ऐतिहासिक पदक विजेता पलेशालाई सरकारले दियो ६५ लाख रुपैयाँ

13 Sep, 2024

सरकारले पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउने पलेशा गोवर्दनसहित प्रशिक्षक र टोली व्यवस्थापकलाई नगदसहित पुरस्कृत गरेको छ।

एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीले पारा तेक्वान्दो खेलाडी कास्य पदक जिते वापतको पलेशालाई ६५ लाख रुपैयाँ पुरस्कार प्रदान गरेका हुन्।

यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पाँच लाख ८५ हजार र टोली व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई दुई लाख ९२ हजार रुपैयाँ पनि प्रदान गरिएको छ। मन्त्रिपरिषद्को निणय अनुसार कर नकाटी पुरकास्कार रकम उपलब्ध गराइएको हो।

सो अवसरमा प्रधानमन्त्री ओलीले खेलमा विजय हासिल गरेपछि खेल क्षेत्रको उत्साह कायम राख्न छिटो–छिटो पुरस्कार दिने र राशिमा कर नकटाउने नीति लिइएको बताए। उनले विश्वस्तरका आगामी खेलमा नेपालले थप सफलता पाउने विश्वास व्यक्त गर्दै पलेशाले हासिल गरेको सफलता नेपालकै अहिलेसम्मको ठूलो पदक भएकाले देशले गौरव गरेको बताए।

कार्यक्रममा युवा तथा खेलकुुदमन्त्री तेजुलाल चौधरी, सचिव सुमनराज अर्याल, राष्ट्रिय खेलकुुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल तेक्वान्दो संघका पदाधिकारीलगायत सहभागी थिए।