पेरिस ओलम्पिकमा ब्याडमिन्टनका प्रिन्सको लगातार दोस्रो हार

30 Jul, 2024
Share:
117 Shares

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा मंगलबार पराजित भएका छन्।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा भएको समूह ‘पी’ को खेलमा विश्व वरीयताको ४३औं स्थानमा रहेका आयरल्यान्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे।

गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो। पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोश्रो सेट जित्न १८ मिनेट खर्चे।

प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा ६ र दोश्रो सेटमा ४ अंक जोडेका थिए । आफूनो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोश्रो सेटमा १७ अंक बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो। उनले टोकियो ओलम्पिक २०२० पनि खेलेका थिए।

विश्व वरीयतामा १७२ औं स्थानमा रहेका प्रिन्सको यो लगातार दोश्रो हार हो। समूह चरणको पहिलो खेलमा पूर्व जुनियर नम्बर वान प्रिन्स विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसंग २१–८ र २१–६ को सोझो सेटमा चुकेका थिए।

समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औं विश्व वरीयताका इजरायलका मिसा जिल्बरम्यानसंग बुधबार प्रतिस्पर्धा गर्ने छन्। कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी छन्।

ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो। सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेएता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो।