सुर्खेतमा हुने १०औं राष्ट्रिय खेलकुदका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले ३५ खेलमा ४१९ स्पर्धा प्रस्ताव गरेका छन्।
सदस्य–सचिव घिसिङले बिहीबारको बैठकमा पोखरामा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलमध्ये प्याराग्लाइडिङ बाहेक ३५ खेल प्रस्ताव गरेका हुन्।
राखेपले १०औं राष्ट्रिय खेलकुद आगामी मंसिर २ देखि ९ गते गर्ने जनाएको छ। त्यसअघि विभिन्न ६ खेलको प्रतियोगिता भने कात्तिक २७ गतेदेखि नै सुरु गर्ने गरी प्रस्ताव गरिएको छ।
जसमा महिला फुटबल, उसु, पुरुषरमहिला बास्केटबल, जुडो, पुरुषरमहिला हक्की र तेक्वान्दो खेललाई राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन अगावै गर्ने गरी प्रस्ताव गरिएको हो । निर्णायक संख्या १ हजार ४९९ प्रस्ताव गरिएको छ।
बैठकमा सदस्य–सचिव घिसिङले राष्ट्रिय खेलकुदका लागि सरकारबाट ६० करोड बजेट सुनिश्चित भइसकेको जानकारी गराउँदै कर्णाली प्रदेश खेलकुद विकास परिषद्लाई तयारी अगाडि बढाउन बजेट उपलब्ध गराउने बताए।
उनले लोगो र मस्कटको छनोट भइसकेको अवगत गराउँदै खेल पोशाकको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेशलाई दिने गरी तयार थालिएको बताए।
सदस्य–सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रचलन अनुसार दसौं राष्ट्रिय खेलकुद सकिए लगत्तै नेपालमा पहिलोपटक कर्णालीमै पारा खेलकुद पनि आयोजना गर्न लागिएको बताए।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव विश्वामित्र सन्ज्यालले आवासको व्यवस्थापनकान कारण कर्णाली प्रदेशको ५ जिल्लामा २२ देखि २४ खेल मात्र गर्न सकिने बताउँदै बाँकी खेलका विषय चाँडै टुंगो लगाउनु गर्नुपर्ने बताए।
बैठकमा सहभागी प्रदेश खेलकुदका सदस्य–सचिवहरूले गाउँपालिकादेखि नै खेलाडी छनोट हुनुपर्ने, एक खेलमा कम्तीमा ५ टिम सहभागी हुनुपर्ने, बजेट समयमा निकासा हुनु पर्नेलगायतका विषयमा धारणा राखेका थिए।