मोफसलको चर्चित नकआउट फुटबल प्रतियोगिता आहा रारा पोखरा माघ २२ गतेदेखि सुरु हुने भएको छ।
साहरा क्लबले आयोजना गर्न लागेको प्रतियोगिताको २४औं संस्करण माघ २२ देखि फागुन ३ गतेसम्म सम्म चल्नेछ।
प्रतियोगितामा नेपालका नौ र तीन विदेशी गरी १२ टिम सहभागी हुने निश्चित हुने आयोजक साहरा क्लबका केशवराज बरालले बताए।
प्रतियोगितामा आयोजक सहारा, नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, मच्छिन्द्र फुटबल क्लब, सङ्कटा क्लब, ब्रिगेड ब्वाइज क्लब, एनआरटी फुटबल क्लब, ब्वाइज युनाइटेड फुटबल क्लब सहभागी हुनेछन्। यस्तै, विदेशी क्लबमा युकेको बिग्रेड ब्वाइज फुटबल क्लब, भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब सहभागी हुनेछन्।
प्रतियोगितामा सहभागी १२ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा ब्रिगेड ब्वाइज, आयोजक, पुलिस, एनआरटी, चर्च ब्वाइज र आर्मी रहेका छन् भने समूह ‘बी’ थ्री स्टार, एपिएफ, मच्छिन्द्र, भारतको थन्डरबोल्ट, सङ्कटा र उजेकिस्तानको टोली छन्। सहभागीमध्ये दुई विदेशी टोली ब्रिगेड ब्वाइज र उज्वेकिस्तानको टोलीसँगै थ्री स्टार तथा आर्मी वाई पाएर सिधै क्वार्टरफाइनल खेल्नेछन्।
प्रतियोगिताको उद्घाटन खेल माघ २२ गते आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबका बीचमा हुनेछ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ पाउने छ भने उपविजेताले ६ लाख रुपैयाँ पाउनेछन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले स्कुटर पाउनेछन्। यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्टाइकर र प्रशिक्षकले २५ हजार रुपैयाँ पाउनेछन्।
प्रतियोगितमा एक करोड ५१ लाख आम्दानी हुने र एक करोड ४२ लाख २० हजार खर्च हुने आयोजक सहारा क्लबले जनाएको छ।