पाकिस्तानी हवाई आक्रमणमाबाट अफगानिस्तानका तीन क्रिकेट खेलाडीको मृत्यु भएको छ।
खेलाडीको मृत्यु भएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले गहिरो दुःख व्यक्त गर्दै पाकिस्तानसहितको आगामी त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलामा आफ्नो देशले सहभागिता नजनाउने घोषणा गरेको छ।
एसीबीका अनुसार उरगुन जिल्लामा भएको उक्त हवाई आक्रमणमा खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।
शनिबार ‘एक्स’ मा विज्ञप्ति जारी गर्दै एसीबीले भनेको छ, ‘पक्तिका प्रान्तको उरगुन जिल्लाका साहसी क्रिकेट खेलाडीहरूलाई पाकिस्तानी शासनले कायरतापूर्ण आक्रमण गरी निशाना बनाएको घटनाप्रति अफगानिस्तान क्रिकेट बोर्ड गहिरो शोक र दुःख व्यक्त गर्दछ।’
तीनै खेलाडी पक्तिका प्रान्तको राजधानी शरानामा भएको मैत्रीपुर्ण क्रिकेट खेलमा सहभागी हुन गएका थिए । खेल सकेर घर फर्किएपछि उनीहरू स्थानीय जमघटमा सहभागी भइरहेका बेला हवाई आक्रमणको निशाना बनेका थिए।
‘यस दुखद घटनामा उरगुन जिल्लाका खेलाडी कबीर, सिबगातुल्लाह र हारुनसहित अन्य पाँच जना सहनागरिक मारिएका छन् भने सात जना घाइते भएका छन् । यो अफगानिस्तानको खेल समुदायका लागि ठूलो क्षति हो,’ विज्ञप्तिमा भनिएको छ।
एसीबीले शोक सन्तप्त परिवारहरू र पक्तिका प्रान्तका जनताप्रति हार्दिक समवेदना व्यक्त गर्दै आगामी नोभेम्बर अन्त्यतिर पाकिस्तान र श्रीलंकासँग आयोजना गर्न लागिएको त्रिदेशीय टी–२० आई क्रिकेट श्रृंखलाबाट अफगानिस्तानले आफ्नो सहभागिता फिर्ता लिने निर्णय गरेको जनाएको छ।
