एन्फा महिला लिग : चन्द्राको ह्याट्रिकमा आर्मीको जित

24 Sep, 2024
Share:
117 Shares

जारी एन्फा महिला लिगमा विभागीय टिम त्रिभुवन आर्मी क्लब विजयी भएको छ। मंगलबार भएको खेलमा चन्द्रा भण्डारीको ह्याट्रिकमा आर्मीले वालिङ नगरपालिकालाई ८–०को फराकिलो अन्तरले हरायो।

आर्मीका लागि चन्द्राका साथै विमला विक र अमिशा कार्कीले समान २–२ गोल गरे भने १ आत्मघाती गोल भएको थियो।

खेलको ३८औं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाइन्। त्यसपछि खेलको ४२औँ मिनेटमा चन्द्राले गोल गर्दै आर्मीको अग्रता दोब्बर बनाइन् । उनले गोल गरेको दुई मिनेट बित्न नपाउँदै वालिङ नगरपालिकाकी खेलाडीले आत्मघाती गोल गरिन्।

खेलको पहिलो हाफमा ३–० गोलअन्तरले अगाडि रहेको आर्मीले खेलको दोस्रो हाफमा ५ गोल थप्यो। खेलको ५४औँ मिनेटमा चन्द्राले व्यक्तिगत दोस्रो गोल गरिन् भने उनैले खेलको ७३औँ मिनेटमा १ गोल थप्दै ह्याट्रिक पूरा गरिन्। त्यसैगरी, अमिशा कार्कीले ६१औँ र ७१औँ मिनेटमा गोल गरिन्। विमलाले खेलको ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन्।

यस्तै, अर्को खेलमा बागमती युथ क्ललले संकटा क्लबमाथि ३–१ को जित निकाल्यो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ६७औं मिनेटमा अचेमपोङले गोल गर्दै बागमतीलाई अग्रता दिलाएकी थिइन् । ७६औं मिनेटमा अचेमपोङले व्यक्तिगत दोस्रो गोल गर्पछि बागमतीले अग्रता दोब्बर बनायो।

संकटाकी टिमीलोपे जेनिफरले ८३औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएकी थिइन्। तर, खेलको ईन्जुरी टाईममा पुष्पाले गोल गर्दै बागमतीको जित सुनिश्चित पारिन्।