‘नाइट क्लब’ जाने खेलाडीलाई जरिवानासहित प्रतिबन्ध

अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टिमका ४ खेलाडीलाई अनुशासनको कारबाही गरेको छ । राष्ट्रिय टिमको क्लोज क्याम्पमा रहेका बेला ‘नाइट क्लब’ जाने खेलाडीलाई एन्फाले ५० हजार जरिवानासहित ९० दिनसम्म प्रतिबन्ध लगाएको छ ।

३० कात्तिकमा नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा खेलाडीहरू विमल घर्तीमगर, दिनेश राजवंशी, अञ्जन विष्ट र सन्तोष तामाङ मध्यरातमै क्याम्प छाडेर ठमेलको लाउन्ज बारमा गएका थिए ।

सो घटनापछि उनीहरुलाई कुवेतविरुद्ध टिमबाट हटाइएको थियो भने १३औँ दक्षिण एसियाली खेलकुद पनि उनीहरुले गुमाएका थिए । सागको टिममा विमल, दिनेश र अञ्जन थिए ।

एन्फाको अनुशासन कमिटीले शुक्रबारदेखि नै लागू हुने गरी स्ट्राइकर विमल र दिनेशमाथि ९० दिनको प्रतिबन्ध लगाएको छ भने यसैगरी, अञ्जन र सन्तोष ४५ दिन प्रतिबन्धमा परेका छन् ।

एन्फाले आफूमातहत आयोजना हुने र राष्ट्रिय टोलीले खेल्ने खेलमा चारै खेलाडीलाई प्रतिबन्ध लगाएको हो । यसका साथै एन्फाले चारै खेलाडीलाई जनही ५० हजार रुपैयाँ तिराएको छ ।

एन्फाको कारबाहीसँगै विमल र दिनेशले शनिबारदेखि सुरु हुने सहिद स्मारक ए डिभिजन लिग पूरै गुमाउने भएका छन् । सन्तोष र अञ्जनले लिगको पहिलो चरण गुमाउनेछन् ।

प्रतिबन्ध समाप्तिपछि अञ्जन र सन्तोष लिगमा आबद्ध हुन सक्नेछन् । तर, उनीहरूले टोलीमा स्थान पाउने वा नपाउने सम्बन्धको निर्णय सम्बन्धित क्लबले गर्नेछ । अञ्जन मनाङ मस्र्याङ्दीका भरपर्दा खेलाडी हुन् भने सन्तोष आर्मीमा आबद्ध छन् । डिस्कोमा मदिरामा लठ्ठिएर झुमेका खेलाडी मोटरसाइकल दुर्घटनमा समेत परेका थिए ।