नेपाललाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने बास्टेकल टिम सम्मानित

10 May, 2024

नेपाल बास्केटबल संघले बोर्डर सिङफु भिलेज स्पोर्टस् कार्निभलअन्तर्गत पुरुष थ्री बाई थ्री बास्केटबल उपाधि विजेता नेपाली पुरुष टोलीलाई बिहीबार नगदसहित सम्मान गरेको छ।

चीनको युनानमा १२ देखि १८ वैशाखसम्म भएको प्रतियोगितामा सहभागी चार खेलाडी र एक प्रशिक्षक सम्मानित भएका हुन् ।

संघका अध्यक्ष भीमसिंह गुरुङले विजय बुर्जा (कप्तान), निकेश मगर, मनीष केसी, निश्चल महर्जन र प्रशिक्षक सुशील गुरुङलाई जनही ३० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेका हुन्।

प्रतियोगितामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भएको थियो । नेपालले फाइनलमा युनान प्रदेशको ब्याड ५ टोलीलाई २०–१९ ले पराजित गर्दै इतिहास रचेको थियो ।

नेपाली बास्केटबल इतिहासमै कुनै पनि टोलीले स्वर्ण जितेको यो पहिलो अवसर हो । प्रतियोगितामा नेपालसहित सात राष्ट्र तथा चीनका ३२ गरी ३९ टोली सहभागी थिए । नेपालसहित चीनका चार गरी पाँच टिम समूह ‘एफ’मा थिए।

प्रतियोगितामा नेपालका मनीष ‘मोस्ट भेलुएबल प्लेयर’ तथा सुशील उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए ।