नेपाली बास्केटबल टिमले जित्यो चीनमा स्वर्ण

29 Apr, 2024

नेपाली राष्ट्रिय थ्री एक्स थ्री बास्केटबल टोलीले चीनको युनानमा भएको युनान प्रोभिन्स बोर्डर ह्याप्पी भिलेज स्पोर्ट्स कार्निभल थ्री एक्स थ्री बास्केटबल प्रतियोगितामा स्वर्ण पदक जितेको छ ।

सोमबार भएको प्रतियोगिताको फाइनलमा नेपालले गत वर्षको विजेता युनानको प्रोभिन्स टिमलाई हराउदै उपाधि जितेको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले जानकारी दिए । फाइनलमा नेपाल २०(१९ ले विजयी भएको थियो ।

विजय बुर्जाको कप्तानीमा रहेको नेपाली टोलीमा निकेश मगर, मनिस केसी र निश्चल महर्जन थिए भने प्रशिक्षकमा सुशिल गुरुङ छन् ।

थ्री एक्स थ्री बास्केटबलमा नेपालसहित ७ राष्ट्रका ७ टोली र चीनको विभिन्न प्रान्त र युनिभर्सिटी गरी कूल ३९ टोलीको सहभागिता रहेको गुरुङले बताए ।

नेपाल बास्केटबल संघका अध्यक्ष गुरुङले नेपाली बास्केटबलमा अन्तर्राष्ट्रिय स्तरमा यो पहिलो स्वर्ण पदक जितेको भन्दै ऐतिहासिक भएको बताए ।

नेपालले समूह चरणमा प्रान्तको तीन टिमलाई हराएको थियो । यस्तै क्वाटरफाइनलमा भियतनाम र सेमिफाइनलमा थाइल्याण्डको टिमलाई हराएको गुरुङले बताए ।

प्रतियोगितामा चीनको प्रान्त र युभिनर्सिटी गरी ३२ टोली सहभागी थिए भने नेपाल, थाइल्याण्ड, भियतनाम, लाओस, कम्बोडिया, म्यानमार र माल्दिभ्सको राष्ट्रिय टोली सहभागी थिए ।

स्पोर्ट्स डिप्लोमेसी अन्तर्गत नेपाली टिम सहभागी भएको गुरुङले जानकारी दिए । जि टु जि अन्तर्गत राष्ट्रिय खेलकुद परिषद्ले बास्केटबल टोलीलाई उक्त प्रतियोगितामा सहभागिताका लागि सहयोग गरेको हो ।