आयोजक रेडियन्ट पब्लिक नवौं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो उपाधिनजिक पुगेको छ।

रेडियन्टको सिनियर र जुनियर ब्वाइज दुवै टोली फाइनलमा पुगेको हो। सिनियर गल्र्समा भने आयोजक रेडियन्टको टोली सेमिफाइनलमै रोकियो।

स्युचाटारस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज सेमिफाइनलमा रेडियन्टले एन्जल लर्डलाई ४९–३१ ले पराजित गर्‍यो। रेडियन्टको जितमा लमिक योञ्जनले १४ अंक योगदान गरे। फाइनलमा रेडियन्टको भेट जेनिथसँग हुनेछ।

अर्को सेमिफाइनलमा सुशिल शाहीको २१ अंक सहयोगमा जेनिथले ज्ञानोदयलाई ५४–२९ ले हराएको थियो।

जुनियर ब्वाइजमा रेडियन्टले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३४–९ ले पाखा लगायो। विजेताका सुशंकेत बनेपालीले १५ स्कोर गरे । उपाधिका लागि रेडियन्टले ग्रिनफिल्डसंग खेल्ने छ ।

ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई २३–१५ ले पन्छायो। ग्रिनफिल्डका रिसभ तामाङले १३ अंक बटुले।

सिनियर गल्र्समा जेसिज र रिब्सले उपाधि भिडन्त पक्का गरे। जेसिजले स्वर्णिममाथि १०–६ को जित दर्ता गर्‍यो। जेसिजकी विप्रिशा श्रेष्ठले ३ अंक जोडिन्।

आयोजक रेडियन्ट विरुद्धको खेलमा रिब्स २५–१९ ले विजयी भयो । रिब्सकी आयुशा श्रेष्ठले १० स्कोर गरिन्।

Back To Top