भारत र अस्ट्रेलियाबीचको टेस्ट सिरिज अर्थात् बोर्डर–गावस्कर ट्रफी आजबाट पर्थमा सुरु भएको छ।
पहिलो टेस्टको पहिलो दिन फास्ट बलर हावी भए भने ब्याट्सम्यान रन बनाउन संघर्षरत देखिए। टस जितेर पहिला ब्याटिङ गरेको भारत दोस्रो सेसनमै १५० रनमै अलआउट भयो।
भारतका लागि डेब्यू खेलाडी नीतिशकुमार रेड्डीले सर्वाधिक ४१ रन बनाउँदा ऋषव पन्तले ३७ र केएल राहुलले २७ रन बनाउनु बाहेक अन्य सस्तैमा सकेटिए। पछिल्लो समय खराब फर्मममा रहेका विराट कोही ५ रनमा आउट हुँदा देवदत्त पाडिकल २३ बल खेलेर रन नजोड्दै आउट भए।
भारतको इनिङ धरासयी बनाउने क्रममा जोश हेजलउडले ४ विकेट लिए भने मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्सले समान २ विकेट लिए।
लन्च लगत्तै इनिङ थालेको अस्ट्रेलियाका ब्याट्सम्यान भारतीय फास्टबलर सामू सुरुआतदेखि नै दबाबमा देखिए। दिनको खेल सकिँदा अस्ट्रेलिया ६७–७ दयनीय अवस्थामा छ। ऊ अझै ८३ रनले पछि छ।
उसका लागि एलेक्स क्यारी र मिचेल स्टार्क क्रिजमा छन्। क्यारीले सर्वाधिक १९ र स्टार्कले ६ रन बनाएका छन्। ट्रविस हेडले ११ र नाथन म्याकस्वीनीले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
भारतका कप्तान जस्प्रित बुरामह अस्ट्रेलियाको माथिल्लो क्रम ध्वस्त बनाए। उनले १० ओभरमा १७ रन मात्र खर्चेर ४ विकेट लिएका छन् भने मोहम्मज सिराजले २ विकेट लिए। यस्तै, अर्का डेब्यू खेलाडी हर्षित रानाले पनि १ विकेट लिए।
पर्थमा पहिलो दिन ७६.४ ओभरको खेल हुँदा १७ विकेट खसेको छ। सबै १७ विकेट नै फास्ट बलरले लिएका छन्। ७६ ओभरमध्ये ५ ओभरमा मात्र स्पिनरले गरेका छन्।