हारका बाबजुद बार्सिलोना र पिएसजी सेमिफाइनलमा, डर्टमन्ड र एस्टन भिल्ला जितका बाबजुद बाहिरिए

16 Apr, 2025

बार्सिलेना र पिएसजी च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। मंगलबार राति भएका खेलमा दुवै टिम पराजित भएपनि पहिलो लेगमा प्राप्त जितको मद्दतमा दुवै टिम सेमिफाइलनमा पुगेकाा हुन्।

स्पेनिस जायन्ट बार्सिलोना दोस्रो खेलमा बोरुसिया डर्टमन्डसँग ३–१ले पराजित भएपनि समग्रमा ५–३को जित सहित सेमिफाइलन पुग्यो। उसलाई पहिलो लेगमा प्राप्त ४–०को जितले सेमिफाइनल पुर्‍यायो।

दोस्रो लेगमा डर्टमन्डलाई जित दिलाउन सेरु गुइरासीले ह्याट्रिक गरेर उनले ११ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए। पहिलो हाफ १–०मा सकिएको खेलमा ४९औं मिनेटमा उनले नै गोल गर्दै डर्टमन्डलाई २–०को जित दिलाउँदै पुनरागमनको आशा जगाएका थिए।

तर, ५४औं मिनेटमा फेर्मिन लोपेजको क्रस क्लियर गर्ने क्रममा रामी बेन्सेबानीले आफ्नै पोस्टमा गोल गरेपछि डर्टमन्टको पुनरागमन कठीन बनेको थियो। ७६औं मिनेटमा गुइरासीले गोल गर्दै ह्याट्रिक गरे। तर, त्यसले डर्टमन्डलाई खेलमा पुनरामगन भने गराउन सकेन।

बार्सिलोना ३–१को हारका बाबजुद समग्रमा ५–३को जितसहित सेमिफाइनलमा पुग्यो। बार्सिालेना सन् २०१९ पछि सेमिफाइनलमा पुगेको हो।

यता, अर्को खेलमा एस्टन भिल्लासँग दोस्रो लेगमा ३–२को पराजयको बाबजुद पिएसजी समग्रहमा ५–४को जित निकाल्दै सेमिफाइनलमा पुग्यो। पहिलो खेलमा प्राप्त ३–१को जितले पिएसजीलाई सेमिफाइनलको यात्रा तय गरायो।

घरेलु मैदानमा एस्टन भिल्लाका लागि योरी टिलेमनस, जोन म्यागिन र इज्री कोन्साले गोल गरेका थिए। पिएसजीका लागि अर्चरफ हाकिमी र नुनो मेन्डेसले गोल गरेका थिए।

खेलमा ११औं मिनेटमा हाकिमी र २७औं मिनेटमा मेन्डेसले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए। तर, त्यसपछि ३४औं मिनेटमा टिलेमन्स, ५५औं मिनेटमा म्यागिन र ५७औं मिनेटमा कोन्साले गोल गर्दै भिल्लालाई पुनरागमनको आशा देखाएका थिए।

त्यसपछि भिल्ला गोलका केही राम्रा अवसरहरु सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा ऊ सेमिफाइलनमा पुग्न असफल भयो। पिएसजी सन् २०२१ पनि सेमिफाइनलमा पुगेको हो।

अब पिएसजीले सेमिफाइनलमा रियल मड्रिड या आर्सनलसँग खेल्ने छ भने बार्सिलोना बार्यन म्युनिख या इन्टर मिलानमध्ये एकसँग खेल्नेछ।