छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल : पहिलो चरणमा १२ खेलाडी विजयी

24 Aug, 2024

झापामा शुक्रबारबाट छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिता शुरु भएको छ। नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब, झापाले संयुक्त आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका ९० राष्ट्रिय खेलाडीको सहभागीता छ।

काँकडभिट्टास्थित होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चार दिनसम्म चल्ने चेस खेलमा समूह क अन्तर्गत २ हजार रेटिङ मुनिका २६ जना राष्ट्रिय एमेच्योर खेलाडी र समूह ख अन्तर्गत १७ सय रेटिङ्ग मुनिका ६४ जना खेलाडीहरुले सहभागीता जनाएका छन्।

प्रतियोगिताका निर्देशक भरत गुरुङको रेखदेखमा सम्पन्न पहिलो चरण समूह ‘क’ को खेलमा १२ जना खेलाडीहरुले जितको स्वाद प्राप्त गरेका छन्। पहिलो वोर्डमा कालोगोटीले खेलेका पूर्व नेपाल च्याम्पियन सिएम पुरुषोत्तम चौलागाईंले आयोजक क्लबका अध्यक्ष विश्वविजय घिमिरे माथि जीत दर्ता गरेका छन्।

मेची नगरपालिका र पशुपति बोर्डिङ स्कूलको प्रमुख प्रायोजनमा सञ्चालन भएको दोश्रो वोर्डमा पूर्व एमेच्योर च्याम्पियन सिएम कृष्ण थापाले उमेश राईलाई पराजित गरेका छन्। अन्य खेलमा निलम बस्नेतले अप्रत्याशित नतिजा निकाल्दै आफू भन्दा उच्च रेटेड सुरज महर्जन माथि कठिन विजय हासिल गरेका छन्।

यस्तै आशिष् फूँयालले ललित बहादुर राईलाई, प्रेम लिम्बुले राजेन्द्र राईलाई, वसन्त लामाले सुमन श्रेष्ठलाई र पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले बल बहादुर तामाङलाई हराएर समान एक अंक जोडेका छन्।

यता समूह ‘ख’ अन्तर्गतको प्रतिस्पर्धामा २७ जना खेलाडीहरुले पहिलो चरण पार गर्न सफल भएका छन्। कृष सबेङहाङ्गले पहिलो चरणको पहिलो वोर्डमा शीर्ष खेलाडी राजन पहाडी माथि जित हात पार्दै पञ्छाउन सफल बने।

कृषसँगै रञ्जित राई, एसिएम कृजन महर्जन, पवन पौड्याल, गोविन्दमान श्रेष्ठ, अविरल राई, राजकुमार वान्तवा, क्षितिज लिम्बु, रोशन खड्गीलगायत खेलाडीले समान एक अंक जोडेका छन्।

भदौ १० गतेसम्म सञ्चालन हुने राष्ट्रिय एमेच्योर चेस प्रतियोगितामा दुवै समूहका शीर्ष दशौं स्थान प्राप्त गर्ने खेलाडीहरुलाई कूल पुरस्कार रकम २ लाख ८२ हजार प्रदान गरिनेछ। साथै प्रतियोगिताका विजेता तथा उपविजेताले मंसिर १३ देखि पुस २२ सम्म दुबईको अलएन शहरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता गराइने छ।

प्रतियोगितामा पहिलो हुनेले नगद पुरस्कार ५० हजार रुपैयाँ, उपविजेताले २५ हजार, तृतीयले १५ हजार, चौथोले १२ हजार, पाँचौंले १० हजार, छैटौंले ८ हजार, सातौंले ६ हजार र आठौं देखि दशौं हुने प्रत्येकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

क्लबका पूर्व अध्यक्ष बालाजित राई र शेरबहादुर बस्नेतका अनुसार राष्ट्रिय चेस प्रतियोगिता सम्पन्न गर्न कूल अनुमानित बजेट १८ लाख २२ हजार खर्च हुने जानकारी गराएका छन्। छैटौं राष्ट्रिय एमेच्योर चेस खेल एफए कोर्स पूरा गरेका निर्णायक सोराज ताम्राकारले सञ्चालन गरेका छन्।