कोशी खेलकुद महोत्सव चेसमा राजनको अग्रता

26 Feb, 2025

कोशी प्रदेश खेलकुद विकास वोर्डद्वारा संयोजित प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत चेस प्रतियोगिता बुधबार कोशी प्रदेशका सदस्यसचिव कृष्ण बस्नेतले शुभारम्भ गरेका छन्।

फागुन १८ गते सम्म चल्ने खेलकुद महोत्सवमा विभिन्न ११ खेलहरु समावेश गरिएको मध्ये चेस खेलका दुई चरण सम्पन्न भएका छन्।

विराटनग स्थित मारवाडी सेवा सदनको सभाकक्षमा सञ्चालन भएको प्रतिस्पर्धामा पूर्वनेपाल च्याम्पियन राजन सुवेदीले दुवै खेलमा जीत दर्ता गरेका छन्।

झापा जिल्लाका १९८२ रेटेड राजनले झापा कै १५७१ रेटेड प्रविशा दवाडी र सुनसरीका १७४८ रेटेड बलबहादुर तामाङलाई पराजित गरेका हुन्।

झापा जिल्ला बुद्धिचाल संघको आयोजनामा चलेको बुद्धिचाल खेलमा झापा जिल्लाका शीर्ष २०२१ रेटेड सिएम शुश्रुत दहालले पनि दुबै खेल जितेर संयुक्त अग्र स्थान हासिल गरेका छन्।

नेपाल बुद्धिचाल महासंघको प्राविधिक सहयोगमा प्रत्यक्ष प्रसारित खेल मार्फत कोशी प्रदेशका ८२ जना खेलाडी सहभागी मध्ये पहिलो दिन समान २ अंक जोडी १८ जना राष्ट्रिय खेलाडी शीर्ष स्थानमा रहन सफल छन्।

प्रतियोगितामा १८३७ रेटेड हिमाल राई, अनरेटेड रिटेशराज नेपाल, १९८२ रेटेड रिशोन थापा, १९१५ प्रज्वल धिमिरे, १८८२ रेटेड तिर्थराज सुब्बा, १८६५ रेटड लोकसागर साम्बा, १९३२ रेटेड प्रकाशचन्द्र नेपाल, महिला कृतिसारा अधिकारी लगायतका खेलाडी अगाडि छन्।

कोशी प्रदेशका २९ जना खेलाडीले कूल नगद पुरस्कार २ लाख १ हजार प्राप्त गर्ने स्पर्धामा पहिलो हुनेले नगद ५० हजार, आकर्षक ट्रफी, गोल्ड मेडल र प्रमाणपत्र हात पार्ने छन्। द्वितीय हुनेले २५ हजार, तृतीय हुनेले १५ हजार, चौथोले १० हजार र बाकी दशौं स्थानमा रहनेले समानजनही ५ हजार पाउने छन्।