पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगको क्लब अल नासर छाड्ने भएका छन्।
सोमबार राति भएको यो सिजनको अन्तिम खेलमा अल नासर अल फतेहसँग ३–२ले पराजित भएलगत्तै रोनाल्डोले सामाजिक सञ्जालमार्फत क्लब छाड्ने संकेत गरेका हुन्।
उनले इन्स्टामा अल–नासरको जर्सीसहतिको तस्बिर राख्दै ‘यो अध्याय समाप्त भयो। कथा, अझै लेखिँदैछ। सबैलाई धन्यवाद।’
यो पोस्टपछि ४० वर्षीय रोनाल्डोेले अल नासर छाड्ने निर्णय गरेको अनुमान गरिएको छ। तर, औपचारिक घोषणा भने भएको छैन। उनको सम्झौता जुन ३० बाट सकिँदै छ।
सन् २०२३ को जनवरीमा अल नासर आएका रोनाल्नोले टिमका लागि उत्कृष्ट प्रदर्शन गरे पनि अल नासरले कुनै ठूला उपाधि भने जित्न सकेको छैन।
त्यसले रोनाल्डो निराश थिए। उनको व्यक्तिगत प्रदर्शन भने उत्कृष्ट थियो। उनले लागतार दुई सिजन प्रो लिगको गोल्डेन बुट जितेका छन्। यो सिजन उनले लिगमा २४ गोल गरेका छन्।
उनले क्लबका लागि १११ खेलमा ९९ गोल गरेका छन्, जसमा साउदी प्रो लिगमा ७४ गोल र एएफसी च्याम्पियन्स लिगमा १४ गोल समावेश छन्। क्लबले सन् २०२३ मा अरब क्लब च्याम्पियन्स कप जिते पनि अन्य ठूला उपाधि जित्न सकेन।
रोनाल्डोको सम्भावित बाहिरिनुको मुख्य कारण अल(नासरको ट्रफीविहीन प्रदर्शन र उनको महत्वाकांक्षी स्वभाव मानिएको छ। ४० वर्षीय रोनाल्डोले आफ्नो करियरको अन्तिम चरणमा पनि उपाधि जित्ने लक्ष्य राखेका छन्। अल नासरले साउदी प्रो लिग, किंग्स कप, र साउदी सुपर कप जित्न नसक्दा उनमा निराशा बढेको अनुमान गरिएको छ।
पाँचपटकको बालोन डीुओर विजेता रोनाल्डो करियरमा १ हजार गोलको कीर्तिमान नजिक छन्। यो कीर्तिमानबाट उनी ६३ गोल मात्र टाढा छन्। रोनाल्डोले भनेका ‘कथा अझै लेखिँदैछ’ले उनको फुटबल यात्रा अझै सकिन बाँकी रहेको संकेत गर्छ।
अब प्रश्न यो छ– रोनाल्डोले आफ्नो करियरको अर्को अध्याय कहाँ लेख्ने छन्? विश्व फुटबलका प्रशंसकहरू उनको अर्को कदमको पर्खाइमा छन्।