इंग्लिस प्रिमियर लिगमा लिभरपुलले आफ्नो उत्कृष्ट लयलाई कायमै रहेको छ। लिगको शीर्ष स्थानमा आफ्नो रवाफ कायमै राख्ने क्रममा लिभरपुलले आइतबार राति रेलिगेसनबाट बच्न संर्षष गरिरहेको वुल्भ्समाथि २–१को जित निकाल्यो।
लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहम्मद सलाहले गोल गरे भने वुल्भ्सका म्याथिस कुन्हाले गोल गरेका थिए।
१५औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए। ३७औं मिनेटमा सलाहले टिमको अग्रता दोब्बर बनाए। उनले पेनाल्टीमा गोल गरेका थिए।
पहिलो हाफमा २ गोलले पछि परेको वुल्भ्सले दोस्रो हाफमा भने उत्कृष्ट खेल प्रदर्शन गरेको थियो। उसले सुरुआतदेखि नै लिभरपुललाई दबाबमा राखेको थियो। त्यहीक्रममा ६७औं मिनेटमा इनफर्म कुन्हाले गोल गर्दै वुल्भ्सलाई खेलमा फर्काउने प्रयास गरे। गोलकिपर एलिसनले केही उत्कृष्ट बचाउ गर्दै थप गोल हुन नदिएपछि लिभरपुल विजयी भयो।
जीतपछि शीर्षस्थानको लिभरपुलको २५ खेलमा ६० अंक भएको छ र उसले ७ अंकको अग्रता बनएको छ। वुल्भ्स १९ अंकसहित १७औं स्थानमा छ।
यस्तै, अर्को खेलमा खराब लयबाट गुज्रिरहेको म्यान्चेस्टर युनाइटेड पराजित भएको छ। उसलाई टोटनहमले १–०ले हराएको हो। टोटनहमलाई जित दिलाउन जेम्म माडिन्सनले १३औं मिनेटमा निर्णायक गोल गरे। टोटनहमले १ सय बढी दिनपछि घरमा जित निकालेको हो।
जितपछि टोटनहम ३० अंकसहित १२औं स्थानमा छ भने युनाइटेड २९ अंकसहित १५औं स्थानमा छ।