अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय फुटबलको प्रशासनिक निकाय फिफाबाट भ्रष्टाचार अभियोगमा प्रतिबन्धमा रहेका पूर्वअध्यक्ष गणेश थापाविरूद्ध छानविन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पत्राचार गर्ने निर्णय गरेको छ।
एन्फा बैठकको कार्यसमिति बैठकले फिफाबाट प्रतिबन्धित थापाले फिफाको निर्देशन उल्लंघन गरेको र अरू गतिविधि गरेको भन्दै अख्तियारसहित विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने निर्णय गरेको हो।
‘संघका पदाधिकारीहरूको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धि विभिन्न भष्ट्राचार लगायतका फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरि कारबाहीको लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकता अनुसार पत्रचार गर्ने निर्णय गरियो,’ एन्फाले सार्वजनिक गरेको निर्णयमा भनिएको छ।
२०७२ सालमा फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन प्रतिबन्ध गरेको थियो।
भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले प्रतिबन्ध गरेको थियो।
थापाले आफ्नो प्रभाव देखाउन आफ्ना नजिकका व्यक्तिमार्फत एन्फामा दबाब दिने गरेको एन्फाको बुझाइ छ। केही वर्षयता थापा सामाजिक सञ्जालमार्फत् एन्फाविरूद्ध भनाइहरू सार्वजनिक गरिरहेका छन्।
२०७१ सालमा संसदको सार्वजनिक लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको गरेको आरोप लगाउँदै छानविनका लागि अख्तियार पठाएको थियो। तर अख्तियारले भने आरोप पुष्टि हुन नसकेको भन्दै उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो।
एन्फाले थापासँगै आफ्ना वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काविरूद्ध पनि उजुरी आएको बताउँदै त्यसको छानवनिका लागि पत्राचार गर्ने निर्णय गरेको छ।