गोपिचन्द्र पार्कीले लन्डन म्याराथनमा भाग लिने

19 Feb, 2024

नेपाली धावक गोपीचन्द्र पार्कीले टीसीएस लण्डन म्याराथनमा भाग लिने भएका छन्। गत मंसिर ९ गते भएको नेपालञ्ज म्याराथन जितेपछि गोपीले सो अवसर पाएका हुन्।

नेपालगन्ज म्याराथनले सोमबार एक कार्यक्रम गर्दै गोपीको सहभागिताबारे विशेष घोषणा गरेको थियो। गोपीले नेपालगञ्ज म्याराथन २ घन्टा २१ मिनेट ३८ सेकेन्डमा दौड पूरा गर्दै जितेका थिए।

नेपालगन्ज म्याराथनको रनिङ पार्टनर नेपाल रन यूकेको सहकार्य र सहयोगमा पार्कीको लन्डन म्याराथनको सहभागिता पक्का भएको हो। गोपीको नाम दर्ता र भिजा प्रक्रिया पूरा भइसकेको र त्यसका लागि तयारी थालिसकेको नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिए।

लण्डन म्याराथन आगामी अप्रिल २१ अर्थात वैशाख ९ गते हुँदैछ।

गोपीको सहभागिता लगायत सबै खर्च नेपाल रन युकेले व्यवस्थापन गरेको बताइएको छ। पहिलो पटक लण्डन म्याराथनमा सहभागी हुन लागेका गोपीचन्द्रले आफ्नो लागि यो ठूलो अवसर भएको र राम्रो प्रदर्शन गर्ने बताए।