३ खेलको टि–२० सिरिजको अन्तिम खेलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै अस्ट्रेलिया आईसिसीको टि–२० वरियतामा शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको अस्ट्रेलिया र इंग्ल्यान्डबीचको अन्तिम टि–२० पछि आईसिसीले सर्वाजनिक गरेको नयाँ वरियतामा अस्ट्रेलिया शीर्ष स्थानमा फर्किएको हो ।
सिरिजका अघिल्ला दुई खेल जित्दै शीर्ष स्थानमा उक्लिएको इंग्ल्यान्ड अन्तिम खेलमा पराजित हुँदै वरियताको दोस्रो स्थानमा झरेको छ । अस्ट्रेलियाको २७५ रेटिङ प्वाइन्ट छ भने इंग्ल्यान्डको २७१ रेटिङ प्वाइन्ट छ ।
यस्तै, तेस्रो स्थानमा भारत, चौथो स्थानमा पाकिस्तान, पाँचौं स्थानमा दक्षिण अफ्रिका छन् । यस्तै, न्युजिल्यान्ड छैठौं, श्रीलंका सातौं, बंगलादेश आठौं, वेस्टइन्डिज नवौं र अफगानिस्तान दसौं स्थानमा छन् ।
यसैगरी नेपाल भने १५औं स्थानमै यथावत रहेको छ । नपालको १८० रेटिङ प्वाइन्ट छ । यसअघि नेपाल लामो समयसम्म ११औं स्थानमा थियो । एसोसियट राष्ट्रमा युएई शीर्ष स्थानमा छ भने स्कटल्यान्ड दोस्रो स्थानमा छ । समग्रमा युएई १३औं र स्कटल्यान्ड १४औं स्थानमा छ ।