त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब फेरि जय ट्रफी दुईदिवसीय क्रिकेटको उपाधिका लागि खेल्ने भएकाछन्। यी दुई टोलीले शुक्रबार तेस्रो चरणको खेलमा आफूअनुकूल नतिजा निकालेपछि फाइनल यात्रा तय गरे । गत वर्ष पनि यी दुई टोलीले नै फाइनल खेलेका थिए।
राउन्ड रोबिन लिगपछि दुई टोली शीर्षस्थानमा रहे । आर्मी ६६ अंक र डिफेन्डिङ च्याम्पियन पुलिस ६५.५ अंक बटुल्न सफल भए । प्रतिस्पर्धी चार टोलीले राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीले फाइनल खेल्ने प्रावधान थियो । नेपाल एपीएफ क्लब ५३ र बागमती प्रदेश ४० अंकका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।
पुलिसले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बागमतीलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गर्यो । पुलिसले २ खेल जितेको हो । पुलिसले पहिलो दिनमै बलियो अग्रता बनाएको थियो । पुलिसले २४५–४ बाट दिनको खेलको सुरु गरेको हो । टोलीले ३३४–८ मा पहिलो इनिङ्स समाप्तिको घोषणा गर्यो ।
अघिल्ला दिनका अविजित ब्याटर दिलसाद अली र कप्तान आरिफ शेख दुवैले अर्धशतक बनाए। दिलसादले ८५ बलमा ७ चौकासहित ५१ र आरिफले ८३ बलमा ५ चौका र २ छक्कासहित ५३ रन बनाए । यी दुईले पाँचौं विकेटमा ५६ रनको साझेदारी गरे। करण केसी २२ बलमा समान २ चौका र छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे । बागमतीका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । तर, उनले त्यसका लागि फेरि १ सय रन खर्चे । उनले कुल ३१ ओभरमा ४ मेडन राख्दै १ सय १८ रन खर्चिए । इशान पाण्डेले २, गौतम केसी र सूर्य तामाङले १–१ विकेट लिए ।
इशानले ८० रन बनाए पनि बागमती दोस्रो इनिङ्समा ६२.२ ओभर खेल्दा २ सय ३७ रनमा अलआउट भयो । ओपनरद्वय रित गौतम शून्य र शुभ कंसाकार २ रनमै आउट भएको अवस्थामा तेस्रो नम्बरमा ब्याटिङ गरेका इशानले ९० बल खेल्दै ८ चौका र २ छक्कासहित ८० रन बनाएका थिए । उत्तम थापामगर २ र आशुतोष घिरैयाले १६ रन बनाए ।
विवेक रानामगरले ४५ रन जोडे । उनले ५६ बलमा ६ चौका र १ छक्का प्रहार गरे । विपिन आचार्य २२, रिजन ढकाल १४, सन्दीप शून्य र गौतम १० रनमा आउट भए । सूर्य ३० रनमा अविजित रहे । उनले ४८ बल खेल्दै १ चौका र ३ छक्का प्रहार गरे । पुलिसबाट ललित राजवंशीले आफ्नो जन्मदिनमा ५ विकेट लिए । उनले २६.२ ओभरमा ५ मेडन राख्दै ८४ रन खर्चे । रशिद खानले १७ ओभरमा २ मेडन राख्दै ७४ रन खर्चेर ३ र करणले १ विकेट लिए ।
पुलिसले आवश्यक ८९ रन १५.१ ओभरमा पूरा गर्यो । रिजन ढकालले इनिङ्सको पहिलो बलमै अमित श्रेष्ठलाई शून्यमा आउट गरे । शंकर राना २८ बलमा ५ चौकासहित २७ रनमा आउट भए । दिनको खेल सकिन लागेको अवस्थामा चौथो नम्बरमा पठाइएका करणले १० बलमा २ छक्कासहित अविजित २१ रन बनाए । युवा ब्याटर सोहेल कुँवर ५२ बल खेल्दा ५ चौका र १ छक्कासहित ३५ रनमा अविजित रहे ।
करण प्लेयर अफ द म्याचमा चुनिए । उनले खेलमा कुल ५ विकेट लिनुका साथै दुवै इनिङ्समा आउट नभई ५० रन बनाएका थिए ।
बलियो स्थितिमा रहेकाले आर्मी क्लबले सुरक्षित खेल्दै फाइनल यात्रा निश्चित गर्यो । एपीएफविरुद्ध हार जोगाउन सके आर्मीको फाइनल यात्रा पक्का हुन्थ्यो । विजयका लागि बलियो सम्भावना रहे पनि आर्मीले कुनै जोखिम नउठाई खेलेर एपीएफलाई मौका दिएन ।
एपीएफको पहिलो इनिङ्स अघिल्लो दिनको स्कोर १ सय ४० रनमै रोकियो, जब अन्तिम ब्याटर कप्तान रोहित पौडेललाई शाहब आलमले ४८ रनमा आउट गरे । अन्ततः आर्मीले पहिलो इनिङ्सका आधारमा १ सय १२ रनको अग्रता बनायो ।
बसिर अहमदको अविजित १ सय १ रनमा आर्मीले २६८–८ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै एपीएफलाई असम्भवझै लाग्ने ३ सय ८१ रनको लक्ष्य दियो । पहिलो इनिङ्समा शतक बनाएका तृतराज दास र भीम सार्की शून्यमा आउट भए । ओपनर इमरान शेखले ४७ बल खेल्दै ६ चौकासहित ४१ र सन्तोष कार्कीले ६१ बलमा ४ चौकासहित २२ रन बनाए ।
प्लेयर अफ द म्याच बसिरले १ सय १९ बल खेल्दा १२ चौका प्रहार गरे । उनले सोमपाल कामीसँग पाँचौं विकेटमा ७१ र कप्तान विनोद भण्डारीसँग छैटौं विकेटमा १ सय १० रनको साझेदारी गरे । सोमपालले ३५ बल खेल्दै ४ चौकासहित २९ र विनोदले ६१ बलमा ९ चौकासहित ६३ रन बनाए । कुशल मल्ल ३ र नरेन साउद २ रनमा आउट भए । एपीएफका रोहितले ३, पूरन बिकले २ तथा अभिषेक गौतम, युवराज खत्री र इर्शाद अहमदले १–१ विकेट लिए ।
