जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

11 May, 2025
Share:
117 Shares

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन्। प्रतियोगितामा तातोपानी गाउँपालिका–७ का कुँवर पहिलो भएका हुन्।

५१ किलोमिटर लामो दूरी कुँवरले पाँच घण्टा ५३ मिनेट १७ सेकेन्डमा पूरा गरे। यस्तै, त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले ६ घण्टा सात मिनेट ५५ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए भने सोमबहादुर रावतले ६ घण्टा १० मिनेट चार सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भए।

महिलातर्फ सात घण्टा ५१ मिनेट ३२ सेकेन्डमा दूरी पूरा गरी कल्पना बुढा विजयी भइन्। राज्यलक्ष्मी रावलले ८ घण्टा ४८ मिनेट ४१ सेकेन्ड दोस्रो भइन भने र सन्दिभा बुढाले ८ घण्टा ४६ मिनेट दुई सेकेन्डमा दौड पूरा गर्दै तेस्रो भइन्।

अल्ट्रा म्याराथनका पुरुष र महिला दुवैतर्फको उपाधि विजेताले एक लाख, प्रमाणपत्र र पदक प्राप्त गरे। दोस्रो र तेस्रो हुनेले क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ प्राप्त गरे।

म्याराथनतर्फ १० किलोमिटरको दौडमा पुरुषतर्फ हरि बोहोरा पहिलो, दीपेन्द्र बुढा दोस्रो र महेन्द्र कठायत तेस्रो भए। दश किलोमिटरको दौडमा महिलातर्फ सङ्गीता बुढा पहिलो, सुरेशा बुढा दोस्रो र हिमाली भण्डारी तेस्रो भए।

यस्तै, पाँच किलोमिटरको दौडमा पुरुषतर्फ पदमराज धिताल पहिलो, नवीन चौधरी दोस्रो र सरोज कटुवाल तेस्रो भएका छन्।

साहसिक खेल पर्यटनको विकासका लागि प्रत्येक वर्ष जुम्ला–रारा अल्ट्रा म्याराथनको प्रतियोगिता हुँदै आएको छ ।