विश्व तेक्वान्दो महासंघबाट कविराज नेगीलाई पाए उत्कृष्ट पारा तेक्वान्दो प्रशिक्षकको अवार्ड

3 Feb, 2026
Share:
117 Shares

नेपाली राष्ट्रिय पारा तेक्वान्दो टिमका सफल प्रशिक्षक कविराज नेगी लामालाई विश्व तेक्वान्दो महासंघ (डब्लुटी)ले ‘पारा तेक्वान्दो कोच अफ द इयर २०२५’ अवार्ड प्रदान गरेको छ।

यूएईको फुजैराहस्थित अल बहर होटल एण्ड रिसोर्टमा आयोजित वर्ल्ड तेक्वान्दो गाला अवार्ड २०२५ समारोहमा डब्लुटीका अध्यक्ष डा. चाउ चुड–वनले नेगीलाई उक्त प्रतिष्ठित अवार्ड प्रदान गरे । यो अवार्ड प्राप्त गर्ने नेपाली तेक्वान्दो इतिहासमा कविराज नेगी पहिलो प्रशिक्षक बनेका छन्।

नेपालमा पारा तेक्वान्दो खेलको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा हासिल गरिएका उल्लेखनीय उपलब्धिको मूल्याङ्कन गर्दै वर्ल्ड तेक्वान्दो टेक्निकल कमिसनले नेगीलाई उत्कृष्ट प्रशिक्षकका रूपमा छनोट गरेको हो।

सन् २०१५ देखि नेपाल तेक्वान्दो संघअन्तर्गत राष्ट्रिय पारा तेक्वान्दो टिमका प्रशिक्षकका रूपमा कार्यरत नेगीको प्रशिक्षणमा नेपालले एसियन गेम्सदेखि पारालिम्पिकसम्म तथा एसियन च्याम्पियनसिपदेखि वर्ल्ड च्याम्पियनसिपसम्म १३ अन्तर्राष्ट्रिय पदक जितिसकेको छ । ती पदकमा ३ स्वर्ण, २ रजत र ८ कास्य समावेश छन् ।