°
, May 29, 2023 in

केपी ओली कपमा पुलिसमाथि सातदोबाटोको जित

SHARE:

केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब विजयी भएको छ। एमालेको युवा संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए।

एन्फा कप्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा सातदोबाटोले विभागीय टिम नेपाल पुलिस क्लबमाथि २–१को जित निकाल्यो। जितसँगै ८ टिम सहभागी प्रतियोगितामा सातदोबाटो सेमिफाइनलमा पुगेको छ।

पुलिसविरुद्ध सातदोबाटोलाई जित दिलाउन दिपकराजसिंह ठकुरी नायक सावित भए । दुवै गोल उनले गरे । पहिलो हाफको इन्जुरी समयमा दीपकको गोलमा सातदोबाटोले अग्रता लियो।

४९ औं मिनेटमा प्रविण थापाले गोल गरेपछि खेल १–१ को बराबरीमा आयो । तर खेलको ७१ औं मिनेटमा दिपकले नै गोल गर्दै खेलमा सातदोबाटोलाई पुनः अग्रता दिलाए। त्यसपछि खेलमा गोल नहुँदा सातदोबाटो विजयी भयो।

फाइनल प्रवेशका लागि सातदोबाटोले त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी)बीचको विजेतासँग खेल्ने छ।

प्रतियोगिता अन्तर्गत शुक्रबार दुई खेल हुनेछन्। बिहान ११ बजे हुने खेलमा आर्मी र एनआरटी तथा दिउँसो मछिन्द्र फुटबल क्लब र चर्च ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेता टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख तथा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई समान ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।

SHARE: