कुशल मल्लको अलराउन्ड प्रदर्शनमा पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ।
सोमबार पोखरा रंगशालामा भएको खेलमा कुशल चम्किएपछि आर्मीले आयोजक मदन भण्डारी स्पोर्टस क्लब निलोमाथि ११० रनको फराकिलो जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै आर्मीले दिएको १९६ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्टस एकेडेमी निलो १५.४ ओभरमा ८५ रनमै अलआउट भयो। उसका लागि कप्तान निर्भिक पाठकले सर्वाधिक २८ रन बनाए भने रोनिम तिवारीले १५, रनवीर यादवले १६ तथा सेमन रोयले १० रन बनाए।
आर्मीका लागि कुशल मल्लले १.४ ओभरमा २ रन मात्र खर्चेर ३ विकेट लिए। जितेन्द्र मुखिया र साहब आलमले समान २ विकेट लिए।
पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको त्रिभुवन आर्मीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १९५ रन बनायो। उसका लागि सन्तोष कार्कीले सार्वधिक ४१ रन बनाए । उनले ३५ बलमा ७ चौका प्रहार गरे।
यस्तै, कप्तान विनोद भण्डारीले ३८, विवेक यादव २९ र कुशल मल्ल २५ रनको योगदान दिए। मदन भण्डारीका लागि मेहोल श्रेष्ठले २ विकेट लिए।