अन्नपूर्ण आधार शिविरमा म्याराथन हुने

26 May, 2025
Share:
117 Shares

अन्नपूर्ण प्रथम हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ।

अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा ३० किलोमिटर लामो म्याराथन हुन लागेको हो।

जेठ २० गते अन्नपूर्ण गाउँपालिका–४ स्थित अन्नपूर्ण आधार शिविरबाट नारच्याङ गाउँसम्म म्याराथन दौड प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

म्याराथन प्रतियोगितामा करिब ६० जनाले सहभागिता जनाउने भएका छन्। जेठ १६ देखि २१ गतेसम्म विविध कार्यक्रमसहित मनाउन लागिएको अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताए।

अन्नपूर्ण गाउँपालिकाका आठवटै वडाबाट पाँच–पाँच जना र जिल्लाका अन्य पाँच स्थानीय तहबाट दुई–दुईजना र नारच्याङ क्षेत्रबाट थप युवाले समेत म्याराथनमा भाग लिने छन्।

गाउँपालिका अनुसार प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने द्वितीय र तृतीयले ३० हजार र २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।