क्युबाका लोपेजले जिते ओलम्पिकमा लगातार ५ स्वर्ण

7 Aug, 2024
Share:
117 Shares

क्युबाका कुस्ती खेलाडी मिजेन लोपेजले पेरिस ओलम्पिकमा ऐतिहासिक सफलता चुमेका हुन्। उनी ओलम्पिक इतिहासमै पहिलो पटक लगातार पाँच संस्करणको एउटै स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन्।

यससँगै उनले कार्ल लेविस र माइकल फेल्प्सको नाममा पनि रहेको लगातार चार ओलम्पिक संस्करणको एउटै स्पर्धामा स्वर्ण जितेको प्रदर्शनलाई उछिनेका छन्। अर्को साता ४२ वर्ष पुग्ने लोपेजले ग्रेको रोमन स्पर्धाको १३० केजी फाइनलमा चिलीका यासमनी एकोस्टालाई पराजित गरे।

एकोस्टा पनि क्युबाली कुस्तीबाज नै हुन्। उनले आफ्नो देशबाट खेल्न नपाएपछि चिलीको प्रतिनिधित्व गरेका थिए। अविश्वसनीय जितपछि लोपेजले यस्तो सफलताको एक मात्र रहस्य कडा मिहिनेत गरेको बताए ।

सन् २०२१ मा टोकियो ओलम्पिकमा स्वर्ण जितेपछि उनले सन्न्यास लिएका थिए। तर उनले फेरि खेल्ने निर्णय गरे र स्वर्ण जिते। यसपल्टको स्वर्णपछि भने उनले अब खेलबाट पूर्णतः सन्न्यास लिएको पनि घोषणा गरे।