नेपाल ‘ए’ ले क्रिकेट विश्वकप लिग २ को तयारीको क्रममा रहेको अमेरिका र स्कटल्यान्डसँगको अन्तर्राष्ट्रिय अभ्यास खेलको शृंखलामा ‘क्लिन स्विप’ विजय हात पारेको छ । नेपाल ‘ए’ ले सोमबार मूलपानीको माथिल्लो मैदानमा भएको दोस्रो तथा अन्तिम खेलमा अमेरिकालाई ७ रनले पराजित गर्यो।
राजु बस्न्यातको प्रशिक्षणमा रहेको नेपाल ‘ए’ ले यसअघि पनि अमेरिकालाई ३ विकेटले पराजित गरेको थियो । नेपाल ‘ए’ ले यसै शृंखलामा बिहीबार स्कटल्यान्डलाई ४५ रनले र वर्षालाई प्रभावित अर्को खेलमा ९ रनले पराजित गरेको थियो । स्कटल्यान्डले मंगलबार नेपालसँग लिग २ को खेलमा खेल्दै छ । अमेरिकाले बिहीबार स्कटल्यान्ड र शनिबार नेपालसँग लिग २ को खेल खेल्ने छ।
सन्दीप जोराको शतकपछि टस जितेर ब्याटिङ राजेको नेपाल ‘ए’ ४९।५ ओभरमा २ सय ६४ रनमा अलआउट भयो । जबाफमा आएको अमेरिका ४९।१ ओभरमा २ सय ५७ रनमा अलआउट भएपछि नेपालले रोमाञ्चक विजय हात पारेको हो ।
ओपनरद्वय तृतराज दास र कप्तान अनिलकुमार साह समान ९ रनमा आउट भए । मयन यादव ३७ बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रनमा रनआउट भए । जोराले १ सय १५ बल खेली १ सय ११ रन बनाए । उनले ९ चौका र ४ छक्का प्रहार गरे । कुशल मल्ल ८ रनमा आउट भएको अवस्थामा जोराले बसिर अहमदसँग पाँचौँ विकेटमा ९९ रनको साझेदारी गरे । बसिरले ५१ बल खेली ३ चौका प्रहार गर्दै ३८ रन बनाए ।
पवन सर्राफ १२ बल खेली समान १ चौका र छक्का प्रहार गरी २०, दीपक डुम्रे ९, नारायण जोशी ९ बल खेली २ छक्का प्रहार गरी १६ र रशिद खान ९ रनमा आउट भए । विपिन खत्री १ रनमा अविजित रहे । अमेरिकाबाट पूर्व कप्तान सौरभ नेत्राभाल्करले ३ विकेट लिए । उनले ८ ओभरमा २१ रन खर्चे । जसदिप सिंहले ७।५ ओभरमा ५५ रन खर्चेर २ तथा शुभम रञ्जने, मोहम्मद मोसिन, मिलिन्द कुमार र रशिल उगरकरले १–१ विकेट लिए ।
स्मित पटेल र सायन जहाँगिरले १० ओभरमा पहिलो विकेटमा ४४ रन जोडे पनि अमेरिकाले त्यसको फाइदा उठाउन सकेन । स्मित ४२ बल खेली ४ चौका र १ छक्कासहित ३३ रन आउट भएपछि अमेरिकाको विकेट जान सुरू भयो । अर्का ओपनर जहाँगिरले ५३ बल खेली ४ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए ।
साइतेजा मुकामल्ला १६, मिलिन्द ११ रनमा आउट भए । सेहन जयसुर्या र रञ्जनेले पाँचौँ विकेटमा ७९ रनको साझेदारी गरे । जयसुर्याले ६७ बल खेली ५ चौका र १ छक्काका साथ ७१ रन बनाई अन्तिम खेलाडीका रूपमा आउट भए । रञ्जनेले ४८ बल खेली ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रन बनाए । उनीसँगैं सञ्जय कृष्णमुर्थी ८, मोहसिन ९, जसदिप ६ र मोसथस केन्जिगे ७ रनमा आउट भएका थिए ।
नेपालबाट स्पिनरद्वय शेर मल्लले ४ र बसिरले ३ विकेट लिए । शेरले ७।१ ओभरमा ३० र बसिरले ८ ओभरमा २५ रन खर्चेका थिए । शाहब आलम र पवनको नाममा १–१ विकेट रहयो ।
