नेपाल इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनमा प्रिन्स र रसिला पराजित

24 Dec, 2024
Share:
117 Shares

ब्याडमिन्टनका नेपालका नम्बर वान प्रिन्स दाहाल र रसिला महर्जन सोमबार सुरु योनेक्स सनराइज इन्टरनेसनल च्यालेन्ज ब्याडमिन्टनमा पराजित भएका छन्। दुवै एकलतर्फको खेलमा पराजित भएका हुन्।

ओलम्पियन खेलाडी प्रिन्सले भारतका कविन थाङ्गमसँग पराजित भए । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा पहिलो सेटमा २२–२० ले आफ्नो पक्षमा पारेका प्रिन्सले त्यसपछि लगातार दुई सेटम २१–१२, २१–१३ ले गुमाएका थिए।

महिला एकलतर्फ शीर्ष वरीयताकी रसिला महर्जन भारतीय अदिती भट्टसँग पराजित भइन्। उनले २१–११, २१–१४ को सोझो सेटमा खेल गुमाएकी हुन्।

विश्व ब्याडमिन्टन महासंघको मान्यताप्राप्त यस च्याम्पिनयसिपमा पुरुष एकलको क्वालिफाइङ राउन्डमा नेपालका क्षितिज खनालले पहिलो चरणमा जित पाए । उनले भारतका चरण नायकलाई २१–१४, १७–२१, २१–१७ ले पराजित गरेका थिए । तर, दोस्रो चरणमा उनी भारतकै सिद्धान्त सलारसँग २१–१८, २१–८ ले पराजित भए ।

नेपाली खेलाडीहरूमा देव राना भारतका सिद्धान्त सलारसँग २१–११, २१–११ ले, भोजबहादुर गुरुङ भारतका मोहित गोवाडा पालाक्षासँग २१–९, २१–१० ले, जीवन आचार्य भारतकै प्रणव राम नागालिङ्गमसँग २१–१२, २१–१५ ले, प्रफुल महर्जन बंगलादेशका खान्दोकर अब्दुस सोदसँग २१–१५, २१–१८ ले, अमन महर्जन भारतका अतुल जोनसँग २१–१५, २१–९ ले र सुनील जोशी श्रीलंकाका सेनुक समारत्नेसँग २१–१८, २१–८ ले पराजित भएका थिए ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको प्रतियोगिताको पुरुषरमहिला एकल तथा युगल र मिक्स गरी ५ विधामा २२ राष्ट्रका १ सय ७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । त्यसमा नेपाल ९ पुरुष र ७ महिला खेलाडीको सहभागिता छ।