°
, May 29, 2023 in

घरेलु दर्शकको साथमा उपाधि जित्ने नेपालको लक्ष्य

SHARE:

राष्ट्रिय टिमका सिनियर खेलाडी विदेश पलायन भएपछि नेपाली टिममा अहिले अधिकांश युवा खेलाडी छन्। तीनै युवा खेलाडीको साथमा नेपाली टिम प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुगेको छ।

शुक्रबार हुने फाइनलमा नेपालले लाओसको सामाना गर्ने छ । खेल साँझ ५ः३० बजे दरशथ रंगशालामा हुनेछ।

नयाँ प्रशिक्षक, अधिकांश नयाँ खेलाडीको आगमन र तीन दिनको प्रशिक्षणले त्रिदेशीय फुटबल प्रतियोगिता खेलेको नेपाल पछिल्ला दुई खेलमा अपराजित रहेपनि नेपालको प्रदर्शन फितलो थियो।

त्यसैले नेपाल घरेलु दर्शकको साथमा प्रदर्शन सुधार गर्दै उपाधि घरमै राख्ने योजनामा छ।

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस संक्रमणकालमा नेपाली राष्ट्रिय टिम सम्हाल्न आइपुगेका हुन् । कोभिड–१९ महामारीले थलिएको र अनियमित बनेको लिगसँगै खेलाडी पलायनले पूरा टिम नै संकटग्रस्त बनाएको थियो । नयाँ खेलाडीको बाहुल्य रहेको टिमले नयाँ प्रशिक्षकको रणनीतिलाई मैदानमा उतार्न पो नसकेको हो कि ?

फिफाले पुरुष टिमका लागि दिएको यो ‘मार्च’ महिनामा तोकिदिएको अवधि सकिएपछि हुन लागेको लाओसविरुद्धको फाइनलमा प्रदर्शन सच्याउने वा सुधार गर्ने अवसर नेपाली टिमले पाएको छ, जसबाट पूरा टिम र प्रशिक्षकले आलोचकलाई केही शान्त पार्न सक्नेछन् ।

‘तयारी राम्रो गरेका छौं । लाओसको सामना गर्दै छौं । पक्कै राम्रो गर्नेछौं । राम्रो नतिजा आउने छ,’ फाइनलबारे प्रशिक्षक एनेसले भने, ‘नतिजाका लागि पनि राम्रो खेल्नु महत्त्वपूर्ण हुनेछ । त्यसको लागि हामी शारीरिक र मानसिक रूपमा तयार छौं । राष्ट्रिय टिममा धेरै खेलाडी नयाँ भएकाले पनि फाइनल सबैको लागि राम्रो अवसर हुनेछ ।’

पहिलो खेलमा लाओसविरुद्ध हात पारेको जितको हुनसक्ने फाइदाबारे उनी बोले, ‘फाइनल भनेको फाइनल हो । त्यहाँ त्यस्तो केही हुँदैन । हामी सबै किसिमले तयार हुनुपर्छ र यसैको आवश्यकता छ ।’

यता, कप्तान किरणकुमार लिम्बुले नेपाल फुटबलका लागि आउने समय चुनौतीपूर्ण भएको बताउँदै सम्हालिएर जानुपर्ने र हामीसँग जे छ त्यसलाई स्वीकार्नुपर्ने बताए ।

उनले यो प्रतियोगिताको फाइनल आफ्नो टिमका अनुभवहीन खेलाडीका लागि धेरै नै महत्वपूर्ण रहेको बताएका छन् । उनले नयाँ प्रशिक्षकसँग छोटो समयको संगतमा टिमको विकासबाट आफू खुसी र आशावादी रहेको समेत बताए।

‘नेपाल राम्रो टिम हो,’ फिफा वरीयतामा नेपालभन्दा १२ स्थानमुनिको टिम लाओसका मुख्य प्रशिक्षक माइकल वेसले भने, ‘नेपालले पनि खेलाडी गुमाएको छ । कोच आएको छोटो समयमात्रै भयो । यो समयमै पनि नेपाली टिम बलियो र संगठित देखिएको छ । उमेरसँगै राम्रो नेतृत्व गर्ने अनुभवी खेलाडीको पनि साथ छ । त्यसैले घरेलु भूमिमा नेपाली टिम ‘बिग फेवरेट’ हो । तर, हामी उसलाई सकेसम्मै गाह्रो बनाउने प्रयास गर्नेछौं ।’

नेपाल र लाओस चौथोपल्ट भिड्न लागेका हुन् । दुई जित र एक बराबरी नेपालको पक्षमा छ ।

SHARE: