राष्ट्रिय टिमका सिनियर खेलाडी विदेश पलायन भएपछि नेपाली टिममा अहिले अधिकांश युवा खेलाडी छन्। तीनै युवा खेलाडीको साथमा नेपाली टिम प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुगेको छ।
शुक्रबार हुने फाइनलमा नेपालले लाओसको सामाना गर्ने छ । खेल साँझ ५ः३० बजे दरशथ रंगशालामा हुनेछ।
नयाँ प्रशिक्षक, अधिकांश नयाँ खेलाडीको आगमन र तीन दिनको प्रशिक्षणले त्रिदेशीय फुटबल प्रतियोगिता खेलेको नेपाल पछिल्ला दुई खेलमा अपराजित रहेपनि नेपालको प्रदर्शन फितलो थियो ।
त्यसैले नेपाली टिम फाइलनमा लाओसविरुद्ध सुुधारिएको प्रदर्शन गदैृ उपाधि उचाल्ने योजनामा छ।
नेपालले तीन महिनापछि भारतमा साफ च्याम्पियनसिप खेल्दैछ । टिमको पछिल्लो प्रदर्शन हेर्दा यो समय गत संस्करणको फाइनल खेलेको नेपालका लागि अत्यन्तै चुनौतीपूर्ण हुनेछ । कप्तान किरणकुमार लिम्बुले भनिसकेका छन्, ‘नेपाल फुटबलका लागि आउने समय चुनौतीपूर्ण छन् । हामी सम्हालिएर जानुपर्छ । हामी दिनदिनै राम्रो हुँदैछौं । हामीसँग जे छ त्यसलाई स्वीकार्नुपर्छ।’
फाइनलअघिको पत्रकार सम्मेलनमा बिहीबार नेपाली टिमका कप्तान किरणकुमार लिम्बुले यो प्रतियोगिताको फाइनल आफ्नो टिमका अनुभवहीन खेलाडीका लागि धेरै नै महत्वपूर्ण रहेको बताएका छन् । उनले नयाँ प्रशिक्षकसँग छोटो समयको संगतमा टिमको विकासबाट आफू खुसी र आशावादी रहेको समेत बताए ।
नेपाल टिमममा कप्तान किरण, रोहित चन्द, अनन्त तामाङ र अन्जन विष्ट मात्र अनुभवी खेलाडीका रुपमा छन् । अन्जन फिट छैनन् । दोहोरो पहेंलो कार्डका कारण भरपर्दा डिफेन्सिभ मिडफिल्डर पुजन उपरकोटी पनि फाइनलका लागि उपस्थित छैनन् ।
प्रशिक्षक भिन्सेन्ट अल्बर्टो एनेसले आफ्नो टिम मानसिक रुपमा तयार रहेको भन्दै राम्रो नतिजाका लागि प्रयास गर्ने बताएका छन् । नयाँ खेलाडीको मनोबलका लागि फाइनल महत्वपूर्ण हुनेमा उनले पनि जोड दिए ।
‘दुवै टिमले राम्रो खेलिरहेका छन् । हामी मानसिक रुपमा तयार छौं, हामीसँग थुप्रै नयाँ खेलाडी छन् । यो खेल उनीहरुका लागि ठूलो अवसर हो’ एनेसले थपे, ‘नयाँ खेलाडीहरुले धेरै सुधार गरिरहेका छन् । उनीहरु राम्रो मानसिकतामा देखिन्छन् । उनीहरु घरेलु मैदानमा राम्रो प्रदर्शन गर्नेछन् भन्ने अपेक्षा छ । नयाँ खेलाडीहरुका लागि यो जित प्रेरणा पनि हुनेछ।’
मैत्रीपूर्ण वा प्रतिस्पर्धात्मक खेलका लागि फिफाले निर्धारण गरेको अन्तर्राष्ट्रिय समय सकिएका कारण शुक्रबारको फाइनलले आधिकारिक मान्यता पाउँदैन । यद्यपि यसलाई हल्का रुपमा नलिने दुवै टिमले बताएका छन्।
लाओसले आफ्नो अन्तर्राष्ट्रिय इतिहासमै पहिलोपल्ट कुनै प्रतियोगिताको फाइनल खेल्न लागेको छ । अधिकांश युवा खेलाडीलाई समेटेर तयार पारिएको लाओस टिम फाइनलका लागि उत्तिकै उत्साहित छ। प्रशिक्षक माइकल वाइसले यसअघिको खेलको तुलनामा परिस्थिति फेरिएकाले फाइनलमा घरेलु टिमसँगको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरेका छन् ।
घरेलु मैदान र समर्थकका बीच नेपाल उपाधिमा प्रमुख दावेदार रहेको उनको स्वीकारोक्ति छ । अक्टोबरमा विश्वकप छनोटको पहिलो चरण पनि नेपालसँगै खेल्नुपर्ने भएकाले आफ्ना लागि अहिलेको फाइनल थप महत्वपूर्ण रहेको उनले बताए ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर र उपविजेताले २ हजार ५०० अमेरिकी डलर पुरस्कार पाउनेछ ।