जोकोभिचले जिते टेनिसतर्फ ओलम्पिकमा स्वर्ण

5 Aug, 2024
Share:
117 Shares

पेरिस ओलम्पिक–२०२४ अन्तर्गत टेनिसतर्फ नोभाक जोकोभिचले स्वर्णपदक जितेका छन्। आइतबार भएको फाइनलमा सर्बियन स्टार जोकोभिचले स्पेनका कार्लोस अल्कारेजलाई हराउँदै स्वर्ण जितेका हुन्।

३७ वर्षीय जोकोभिचले पेरिसमा खाचाखच दर्शकमाझ यो वर्षको फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेजलाई ७–७ (७–३) र ७–६ (७–२) ले पराजित गरे। टेनिसमा सबैखाले प्रतियोगिता गरी कुल २४ उपाधि जितेका जोकोभिचको ओलम्पिक स्वर्ण भने यो पहिलो हो।

जितपछि अल्कारेजलाई अँगालो हालेका जोकोभिच त्यसपछि भावुक बन्दै कोर्टको बीचमा घुँडा टेकेर अडिएका थिए।

योसँगै जोकोभिच एकलतर्फ सबै ग्रान्डस्लामसहित ओलम्पिकमा स्वर्ण जित्ने पाँचौँ खेलाडी बने। जोकोभिचअघि राफेल नाडाल, सेरेना विलियम्स, आन्द्रे अगासी र स्टेफी ग्राफले सबै उपाधि जितेका थिए।

‘यो जित्ने मेरो चाहना र इच्छाहरू सबैलाई यस जितले उछिनेको छ। कोर्टमा सर्बियन झन्डा, सर्बियन राष्ट्रिय गान र घाँटीमा स्वर्णपदक हुनु, मलाई लाग्दैन यो भावनालाई कुनै पनि कुराले जित्न सक्छ,’ जोकोभिचले भने ।