पारा तेक्वान्दो टोली मलेसिया जाँदै

28 Jul, 2025
Share:
117 Shares

१०औं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४)मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ।

जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ। पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ।

पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन्। पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन्।

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन्।

कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ। चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने छिन्।

व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। नेपालले सुरुको संस्करणदेखि नियमित रुपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ । यो अवधिमा नेपालले १ रजत र ५ गरी ६ पदक जितेको छ। रञ्जना धामीले रजत र कांस्य जितेकी छन्। पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन्।

प्रतियोगितामा ४५ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जनाएका छन्।