
पारा तेक्वान्दो टोली नेपाल फर्कियो
विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स फाइनल ९जि १०० मा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली सोमबार स्वदेश फर्किएको छ।
डिसेम्बर ८ देखि १० तारिखसम्म साउदी अरबियाको रियादमा भएको प्रतियोगितामा के–४४ क्याटगोरीअन्तर्गत महिला ५२ केजीमुनि सिर्जना घिसिङ र ५७ केजीमुनि पलेशा गोबर्द्धनले प्रतिस्पर्धा गरेका थिए । सिर्जनाले नेपाललाई स्वर्ण दिलाइन् ।
सिर्जनाले क्वाटरफाइनलमा मेक्सिको, सेमिफाइनलमा ब्राजिल र फाइनलमा टर्कीकी खेलाडीलाई पराजित गरेकी थिइन् । पारा ओलम्पियन पलेशा गोबद्र्धन पहिलो चरणमै इरानकी खेलाडीसंग चुकिन् ।
टोलीको प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, उपाध्यक्ष भानबहादुर चन्द, सदस्य राजेन्द्र उप्रेती, सदस्य रामचन्द्र श्रेष्ठ, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।