प्रिन्स ओलम्पिकको पहिलो खेलमा शीर्ष २ वरीयताका भिक्टरसँग पराजित

28 Jul, 2024
Share:
117 Shares

नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक २०२४ को ब्याडमिन्टनमा आइतबार पराजित भएका छन्।

फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा भएको समूह ‘पी’ को आफ्नो पहिलो खेलमा विश्व वरीयताको शीर्ष २ स्थानमा रहेका डेनमार्क भिक्टर एक्सेल्सेनसँग विश्व वरीयतामा १७२ औं स्थानमा रहेका प्रिन्सलाई २–० को सोझो सेटमा पराजित भए।

कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए। प्रिन्सको समूहमा उनी र भिक्टरसहित ४ खेलाडी छन्।

प्रिन्सले जुलाइ २९ तारिखमा आयरल्यान्डका हात गुयेन तथा जुलाइ ३१ मा इजरायलका मिसा जिल्बरम्यानसँग खेल्ने छन्। विश्व वरीयतामा हात ४३ औं तथा मिसा ५८ औं स्थानमा छन्।

नेपालमा भएको १३औं सागमा २ कांस्य पदक जितेका राष्ट्रिय च्याम्पियन प्रिन्स पूर्व जुनियर विश्व नम्बर वान खेलाडी हुन्। २ पटकका ओलम्पिक च्याम्पियन, ५ पटकका विश्व च्याम्पियन तथा ६ पटकका अल इङल्यान्ड च्याम्पियन चीनका लिन डानलाई आफ्नो ‘हिरो’ मान्ने बायाँ हाते प्रिन्सले ७ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका थिए।

जापानमा १९६४ मा भएको टोकियो ओलम्पिकमा नेपालले पहिलो पटक सहभागिता जनाउन सुरु गरेएता ब्याडमिन्टनमा नेपालले पहिलो पटक भाग लिएको हो।

भिक्टरटोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक २०१६ का कांस्य विजेता हुन्। २ पटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बीडब्लु टुरमा १८ पटक विजेता भएका छन्।