पिएम कप भलिबलमा आर्मीले बुढानिलकण्ठलाई हरायो

2 Jun, 2024
Share:
117 Shares

राजधानीमा जारी आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत पुरुषतर्फको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले बुढानीलकण्ठ भलिबल क्लबलाई पराजित गरेको छ।

त्रिपेरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको खेलमा आर्मीले बुढानीलकण्ठलाई ३–० को सोझो सेटमा हरायो। आर्मीले खेलको पहिलो सेट २५–१५, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२०ले जित्यो।

प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो। पहिलो खेलमा आर्मीले कोशी प्रदेशलाई ३–० को सेटमा पराजित गरेको थियो। जितसँगै आर्मीले दुई खेलमा ६ अंक जोडेको छ। दुई खेल खेलको बूढानीलकण्ठ अंंकविहीन छ।

बूढानीलकण्ठ पहिलो खेलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग ३–१ सेटमा पराजित भएको थियो ।

यसैगरी महिलातर्फ विभागीय टोली नेपाल पुलिस क्लवले न्यू डायमन्ड स्पोर्टस क्लवलाई ३–१ तथा एभरेस्ट भलिबल क्लवले कर्णाली प्रदेशलाई ३-० को सेटमा पराजित गरेको थियो ।