महिला पिएम कप : सुपर फोरमा दुई विभागीय टिम आर्मी र एपिएफ विजयी

23 Jan, 2025

धनगढीमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटको सुपर फोरमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब विजयी भएका छन्।

बिहीबार भएको खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई १४ रनले हरायो। १११ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो।

उसका लागि मनिषा बोहराले सर्वाधिक १८ रन बनाइन् भने कविता कुँवरले १६ रन बनाइन्। अन्यले गतिलो योगदान दिन सकेनन्। बलिङमा आर्मीका लागि सुस्मिता भुसालले ३ विकेट लिइन् भने सिता शाही र लक्ष्मी साउदले समान १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ६ विकेटको क्षतिमा ११० रन बनायो। उसका लागि सम्झना खड्काले अविजित ७४ रनको योगदान दिइन् । बलिङमा सुदूरपश्चिमका जानकी थापाले २ विकेट लिइन्। ्

यस्तै अर्को खेलमा एपिएफ क्लबले बागमती प्रदेशलाई १० विकेटले हरायो। बागमतीले दिएको ४३ रनको सामान्य लक्ष्य एपिएफले ६.५ ओभरमा भेट्टायो। उसका लागि राजमती ऐरीले नटआउट १४ रन र ममता चौधरीले नटआउट २३ रन बनाए।

त्यसअघि पहिलो ब्याटिङ गरेको बागमतीले १८ ओभरमा झारिएको खेलमा ८ विकेटको क्षतिमा ४२ रन मात्र जोड्न सक्यो। उसका लागि कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङमा एपिएफकी सुमन विष्टले ३ विकेट लिइन् भने रेखा रावल र बिनु बुढाले समान २ विकेट लिए।