मलेसियामा भएको एसियाली ट्रायल मास्टरमा प्रीतिलाई स्वर्ण

15 Sep, 2024

नेपालकी प्रीति राईले एसियाली ट्रायल मास्टर च्याम्पियनसिप फाइनलमा स्वर्ण जितेकी छन्। मलेसियाको सबाहमा भएको महिला ७८ किलोमिटर दूरी प्रीतिले १० घण्टा ५९ मिनेट ४८ सेकेन्डमा पूरा गरेकी हुन्।

सोही स्पर्धामा नेपालकी रशिला तामाङले कांस्य जितिन्। रशिलाले निर्धारित दूरी तय गर्न १३ घण्टा १५ मिनेट ०९ सेकेन्ड समय खर्चिन् । यो स्पर्धामा नेपालका छोकी शेर्पा सातौं, पदमकुमारी सुनुवार आठौं र आङ फुर्वा शेर्पा २२ औं स्थानमा रहे । ३५ खेलाडी सहभागी थिए।

पुरुष ७८ किलोमिटर दूरीमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । ४५ धावक सहभागी उक्त स्पर्धामा अर्जुन कुलुङ राईले १० औं, लोकेन्द्र राईले १४ औं, फुर्पासिंह तामाङले २२ औं र मिलन राईले २७ औं स्थानमा दौड टुंगाए।

राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य समेत रहेका नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरले खेलाडीलाई बधाइ दिँदै सफलताले नेपाल साहसिक दौडमा अब्बल छ भन्ने सन्देश प्रवाह भएको धारणा व्यक्त गरे । नेपाली टोली असोज १ गते स्वदेश फर्किने छ।