युवा स्ट्राइकर केलियन एम्बाप्पे चम्किए पछि फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्ट्सलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।
आन्द्रे हेरेराले ४७ औं मिनेटमा पीएसजीलाई अघि बढाएका थिए । एम्बाप्पेको पासमा उनले पीएसजीका लागि पहिलो गोल गरेका थिए । ६५औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाउने काम गरे । खेल सकिन दुई मिनेट बाँकी छदाँ पाब्लो साराबियाले पीएसजीका लागि तेस्रो गोल गरेका थिए ।
मुख्य फरवार्ड नेयमार चोटका कारण मैदानमा अनुपस्थित थिए । उनले च्याम्पियनस लिगको पछिल्लो खेलमा टर्कीस क्लबविरुद्ध चोट बोकेका थिए । पहिलो हाफ गोल रहित बराबरी खेलेपछि दोस्रो हाफमा पीएसजीले तीन गोल निकाल्यो ।
साविक विजेता पीएसजीले लिग वानमा लगातार ७ खेलमा जित निकाल्न सफल भएको छ । शीर्ष स्थानको पीएसजीको ९ खेलबाट २१ अंक छ । नान्ट्स ८ अंक सहित १६ औं स्थानमा छ ।