नेपाललाई ऐतिहासिक एमएफएन १७को उपाधि दिलाएका एमएमए फाइटर रवीन्द्र ढाटलाई काठमाडौं महानगरपालिकाले सम्मान गरेको छ।
मंगलबार एक कार्यक्रम आयोजना गर्दै महानगरले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन एमएमए फाइटर रवीन्द्रलाई २ लाख रुपैयाँसहित सम्मान गरेको हो।
रवीन्द्रले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए। यो उपाधि जित्ने उनी पहिलो नेपाली खेलाडी हुन्।
सम्मान ग्रहणपछि ढाटले महानगरपालिकाको सम्मानले आफूलाई थप हौसला मिलेको बताए।
‘हजुरहरूले खेलाडीलाई सम्मान गर्नुभएकोमा म धेरै खुशी छु। अब आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्ने कोसिस गर्नेछु,’ उनले भने, ‘यो सम्मानले हामीलाई अगाडि बढ्न थप प्रेरणा दिन्छ।’
