रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट एसिया कपका लागि छनोट भएको छ। घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपको उपाधि जितेसँगै नेपाल एसिया कपमा छनोट भएको हो।
अब नेपालले एसिया कपमा एसियाका टेस्ट मान्यता प्राप्त राष्ट्रसँग क्रिकेट खेल्न पाउने छ। एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महारथी भारत र पाकस्तिानसँग खेल्ने पक्का छ। प्रतियोगितामा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा छन्।
नेपाल एसियाकपमा छनोट भएपछि नेपाली टिमका कप्तान रोहित पोडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताए । उनले भने, ‘प्रिमियर कप विजेताका रुपमा एसिया कपमा छनोट हुँदा एकदमै खुसी लागेको छ। हामीले जुन हिसाबले खेलेका थियौं त्यहीअनुसारको नतिजा आयो।’
रोहितले एसिया कप नेपालका लागि निकै ठूलो भएको बताए । ‘एसिया कप हाम्रा लागि ठूलो छ। सानैदेखि भारत(पाकिस्तानको खेल हेर्दै आयौं। आज त्यही प्लेटफर्ममा पुगेर उनीहरूसँग खेल्दैछौं,’ उनले भने।
उनले एसिया कप खेल्दा नेपाली टिमको एक्सपोजर बढ्ने समेत बताए। उनले भने, ‘हाम्रा लागि एसिया कपको एकदमै महत्व छ। अब हामीलाई सबैले चिन्छन्। त्यसैल आउने वर्षमा नेपाली क्रिकेटमा झनै राम्रो हुन्छ।’