रोनाल्डो अझै २ वर्ष अल नासरमै रहने

26 Jun, 2025
Share:
117 Shares

पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अझै २ वर्ष साउदी प्रो लिग क्लब अल नासरमै रहने भएका छन्।

४० वर्षीय रोनाल्डोले बिहीबार मात्र अल नासारसँगको सम्झौता नवीकरण गरेका छन्। अब उनी जुन २०२७ सम्म साउदी क्लबमै रहने छन्।

यसअघि सिजनको अन्त्यसँगै रोनाल्डोले अल नासार छाड्न चाहेका थिए। क्लबसँगको सहकार्य सकिएको आसयको अभिव्यक्ति उनले दिएका थिए।

तर, पोर्चुगललाई दोस्रो पटक युईएफए नेसन्स लिगको उपाधि जिताएपछि भने रोनाल्डोले अल नासरमै बस्ने मन बनाएका थिए। रोनाल्डो अल नासरमै बस्ने भएपछि क्लब र प्रो लिगका समर्थकलाई यसले खुसी दिएको छ।

सन् २०२३ को जनवरीमा अल नासरमा आएका उनले क्लबका लागि १०५ खेलमा ९९ गोल गरेका छन्। उनले लागतार दुई सिजन प्रो लिगको गोल्डेन बुट जितेका छन्।

नयाँ सम्झौतापछि रोनाल्डोको पारिश्रमिक वार्षिक २०० मिलियन युरोभन्दा बढी हुने छन्। यसले उनलाई विश्वकै सर्वाधिक कमाउने फुटबलर पनि बनाउने छ ।

अल नासरका खेल निर्देशक फर्नान्डो हिएरोले रोनाल्डोको उपस्थिति क्लब र साउदीका खुसीको कुरा भएको बताए। रोनाल्डोको यो निर्णयले साउदी फुटबललाई विश्वसामु थप चिनाउने उनले बताए।