किसुनजी हाफ म्याराथनको उपाधि विजय र पुष्पालाई

30 Mar, 2024

विजय रावत र पुष्पा भण्डारी तेस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा उपाधि जितेका छन् । विजय पुरुष र पुष्पा महिलामा विजयी भए ।

विजयले निर्धारित दूरी १ घण्टा ७ मिनेट ५६ सेकेन्डमा पूरा गरे । १३ औं सागको म्याराथनका स्वर्ण विजेता किरणसिंह बोगटी १ घण्टा ८ मिनेट २५ सेकेन्डबाट दोस्रो तथा हङकङमा भएको तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडका स्वर्ण विजेता अजितकुमार यादव १ घण्टा ११ मिनेट ३३ सेकेन्डमा तेस्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेश समितिद्वारा आयोजित दौडमा पुष्पाले १ घण्टा २३ मिनेट ०५ सेकेन्डमा दौड जिते। राममाया बुढा १ घण्टा ३३ मिनेट १२ सेकेन्डबाट दोस्रो सुसान कार्की १ घण्टा ३५ मिनेट ४४ सेकेन्डमा तेस्रो भए।

पुरुष महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

पुरुष ५ किमि दौडमा धनुवा नन्द १८ मिनेट ०९.१० सेकेन्डसाथ विजयी भए। विकेश घिमिरे (१८ मिनेट ३९.२६ सेकेन्ड) दोस्रो तथा नकुल घर्ती (१८ मिनेट ४३.५६ सेकेन्ड) तेस्रो भए।

महिलामा निर्धारित दूरी २६ मिनेट ०७.३० सेकेन्डबाट शर्मिला बस्नेत पहिलो भइन्। २६ मिनेट ०९.३४ सेकेन्डबाट सुस्मु डोल्मु तामाङ दोस्रो र ३२ मिनेट ३४.३६ सेकेन्डबाट दिविका गुरुङ तेस्रो भए। दुवै समूहका विजेताले १५ हजार, उपविजेताले १० हजार र तेस्रोले ५ हजार पुरस्कार पाए।

विजेतालाई पूर्वमन्त्री धनराज गुरुङ, पूर्वप्रदेश सांसद राधा घले, आयोजक समितिका अध्यक्ष दीपक गुरुङलगायतले पुरस्कृत गरे।