क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागोमा पुगेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेसहित अन्य खेलाडी, अफिसियल र प्रशासकको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ।
सिपिएलका लागि ट्रिनिडाड एन्ड टोबागो पुगेलगत्तै खेलाडी, अफिसियल र प्रशासकको कोरोना भाइरसको परीक्षण गरिएको थियो। सिपिएलका अनुसार १६२ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।
अहिले ट्रिनिडाड एन्ड टोबागोमा पुगेका सन्दीपसहित सबै जना अफिसियल होटलमा क्वारेन्टिनमा बसेका छन्। क्वारेन्टिनमा बसेका सबैको नियमित परीक्षण गरिने सिपिएलले जनाएको छ।सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा छन्।
सन्दीप कोरियन एयरको चार्टर्ड जहाजमार्फत बिहीबार दक्षिण कोरिया र त्यहाँबाट अमेरिका हुँदै ट्रिनिडाड एन्ड टोबागो गएका थिए। टोबागो उड्नुअघि सन्दीपले पीसीआर परीक्षण गराउदा नतिजा नेगेटिभ आएको थियो। सन्दीप यसपटक जमैका तल्लावाहजमा आबद्ध छन्।
सिपिएल आगामी १८ अगस्टबाट सुरु हुँदैछ। सिजनको लिगमा ट्रिनिडाड एन्ड टोबागोका दुई वटा रंगशालामा ३३ खेल हुनेछन्। पहिलो खेलमा गुएना अमेजन वारियर्स र ट्रिन्बागो नाइटराइडर्सबीच प्रतिस्पर्धा हुनेछ। फाइनल १० सेप्टेम्बरमा हुनेछ।
सन्दीपले सिपिएल खेल्न लागेको यो तेस्रो पटक हो। उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए। यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेले।
यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन्। उनी आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ।
सिपिएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्।