सन्दीपको मुद्दाको सुनुवाई आज हुँदै

22 Apr, 2024

क्रिकेटर सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ।

अघिल्लो पटक गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाई छ । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममितिसम्वन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

न्यायाधीशले मुद्दा आफूबाट पन्छाउने चेष्टा नगरेमा यसै साता फैसला आउन सक्ने बताइएको छ । जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

अदालतले परिवर्तित नाम गौशाला २६ (६) (१) ०७९÷०८० को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असर समेतलाई विचार गर्दै सजाय तोकेको थियो ।