लन्डनमा राष्ट्रिय कीर्तिमान बनाएकी सन्तोषी भन्छिन्– देशको नाम लिँँदा गर्वले छाती फुल्यो

6 May, 2025
Share:
117 Shares

पहिलो पटक लन्डन म्याराथनमा सहभागी भएकी नेपाली धाविका सन्तोषी श्रेष्ठले नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। यसैसाता भएको प्रतियोागितामा सन्तोषीले निर्धारित दूरी २ घण्टा ४२ मिनेट ५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको कीर्तिमान तोडेकी हुन्।

नेपाली खेलकुदमा ‘गोल्डेन गर्ल’ले परिचित सन्तोषीलाई लन्डन म्याराथनमा दौडिन लाग्दा आफू भीडमै हराएर अल्मलिएको र बाटो नपाएको जस्तो अनुभव भएको थियो। सयौं धावकसँग दौडिएको अनुभव भए पनि लाखौँको भीडमा पहिलो पटक दौडिँदा अत्यास लागेको उनले बताइन्।

‘सुरुमा त बेकार आएछु। आफ्नै रेकर्ड सुधार गर्ने लक्ष्य पूरा नहुने भयो भन्ने लागेको थियो,’ उनले भनिन्, ‘जति मानिस भए पनि मैले मेरो काम पूरा गर्नुपर्छ, मेरो र देशको नामका लागि मैले राम्ररी दौड पूरा गर्नुपर्छ भन्ने लागेर सम्हालिएर दौडिएँ।’

सन्तोषीले पहिलो पटक पेरिस ओलम्पिकको महिला म्याराथनमा सहभागिता जनाउँदाको क्षण स्मरण गरिन्। ती दुई म्याराथनको अनुभव आकाश पातालको फरक रहेको उनले सुनाइन्।

लन्डन म्याराथनको ‘फिनिस लाइन’ पूरा गर्ने बेला ‘ट्र्याक’ पाउनसमेत कठिन भएको उनको अनुभव छ। तर, दौड पूरा गर्ने बेलामा आयोजकले आफ्नो नाम लिँदै राष्ट्रिय कीर्तिमान तोडिएको सुनाउँदा भने आफू खुसीले स्तब्ध भएको बताइन्।

ग्विश्वका लाखौँ मानिस सहभागी प्रतियोगितामा आफ्नो र देशको नाम सुन्दा गर्वले छाती ढुक्क फुलेको क्षणको वर्णन गर्ने शब्द नै छैन,’ खुसी हुँदै उनले भनिन्।

पेरिस ओलम्पिकमा निर्धारित दूरी २ घण्टा ५५ मिनेट ०६ सेकेन्डमा पूरा गरेकी सन्तोषी २८ वर्षपछि ओलम्पिकको महिला म्याराथनमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी थिइन्। पेरिस ओलम्पिकसँग लन्डन ओलम्पिकको तुलना गर्दै सन्तोषी भन्छिन्, ‘हरेक खेलाडीलाई जस्तै मलाई पनि ओलम्पियन हुन पाए भन्ने हुन्थ्यो, त्यो प्राप्त गरेँ। लन्डन म्याराथन पनि दौडिन पाएँ, यो नितान्त फरक अनुभव हो।’

विश्वका सबै ठूला म्याराथनमा सहभागी भई नयाँ पुस्तालाई प्रेरणा दिने र विभागीय टोलीमा आबद्ध नभए पनि खेलकुदमा केही गर्न सकिन्छ भन्ने सन्देश दिने चाहना उनको छ।