
१३औं सागकी स्वर्ण विजेता सन्तोषी सम्मानित
१३औं सागमा एथ्लेटिक्समा नेपाललाई स्वर्ण पदक दिलाएकी सन्तोषी श्रेष्ठ सम्मानित भएकी छिन्। आइतबार सन्तोषीलाई संस्कृति इन्टरनेसनल स्कुललेले ‘संस्कृति स्पोर्टस सम्मान’बाट सम्मानित गरेको हो।
सम्मानको पुरस्कार राशी १ लाख १ हजार थियो। खेलकुद विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभाशाली खेलाडीहरुलाई प्रोत्साहन प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको हो।
स्कुलको वार्षिक स्पोर्टस डेको अवसरमा सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा आयोजित एक कार्यक्रममा स्कुलका अध्यक्ष रञ्जित आचार्य, स्कुलका डिरेक्टर पशुपती मुरारका, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुबेदी, क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का लगायतको उपस्थितिमा सन्तोषीलाई सम्मान गरिएको हो ।
सन्तोषी श्रेष्ठ एथलेटिक्समा अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने नेपालकी पहिलो महिला खेलाडी हुन् । पेशाले जनस्वास्थ्य अधिकृत उनी एक राष्ट्रिय खेलाडी हुनुका साथै सार्वजनिक प्रशासन र पब्लिक हेल्थ न्युट्रिसनमा पनि थुप्रै डिग्रीहरु हासिल गरेकी छिन् ।
उनले २०७९ को नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा १०००० र ५००० मिटर दौडमा, २०७९ को ४४औं राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको १५०० र ३००० मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् भने २०७९ को आठौं नेपालगञ्ज म्याराथनमा पनि कोर्स रेकर्डसहित विजेता बन्न सफल भएकी थिइन्।
त्यसैगरी सोही कार्यक्रममा व्यावसायिक तालिम लिन नसक्ने देशभर रहेका १९ वर्षमुनिका खेलाडीहरू मध्ये १ जना योग्य क्रिकेटरलाई ५० हजार बराबरको ट्रेनिङ स्कलरशिप प्रदान गर्ने घोषणा गरिएको छ।