सप्तरी प्राइड लिग : खडक वारियर्स र कन्चनरुप राइनोज सेमिफाइनलमा

15 Jul, 2025

सप्तरीको राजविराजमा जारी सातौँ संस्करणको मेयर कप सप्तरी प्राइड लिग प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।

मंगलबार सम्पन्न दुई वटा खेल जित्दै कन्चनरुप राइनोज समुह ‘ए’ को उपविजेताको रुपमा तथा खडक वारियर्स समुह ‘बि’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गरेका छन्।

यसअघिनै समुह ‘ए’ को विजेताको रुपमा राजविराज राजदेवी रोयल तथा समुह ‘बि’ को विजेताको रुपमा तिरहुट टाइगर्स सेमीफाइनल प्रवेश गरिसकेका थिए। राजगढ वारियर्स, हनुमाननगर हिरोज, रोयल च्यालेन्जर्स बाह्री वीरपुर र रुपनी राइडर्स पहिलो चरणबाट बाहिर भएका छन्।

भोलि बुधबार प्रतियोगिताको दुवै सेमीफाइनलमा राजविराज राजदेवी रोयलले खडक वारियार्ससँग तथा तिरहुट टाइगर्सले कन्चनरुप राइनोजसँग प्रतिस्पर्धा गर्नेछन्।

आजको पहिलो खेलमा हनुमाननगर हिरोजलाई ४ विकेटले पराजित गर्दै कन्चनरुप राइनोजले सेमीफाइनलमा स्थान पक्का गर्यो। कन्चनरुपले ३८ रनको सामान्य लक्ष्य ८. ४ ओभरमा ६ विकेट गुमाएर भेटायो।

राइनोजको लागि महानन्द यादवले सर्वाधिक १४ रन योगदान दिए जुन क्रममा १२ बलमा २ चौका र १ छक्का प्रहार गरे। राकेश कामतले ८ रन, रौनक सिंहले ६ रन तथा रिराज सहाले ५ रन योगदान दिए। हिरोजको बलिंगमा सन्जन बैठाले सर्वाधिक ३ विकेट लिएता पनि जितको लागि पर्याप्त रहेन। गोमानन्द अमात्यले २ तथा सन्जिब मण्डलले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिंग गरेको हनुमाननगर हिरोजले १०.३ ओभरमा ३७ रनमा सम्पूर्ण विकेट गुमाउन पुग्यो। राइनोजका बलर सम्भु मण्डल र अभिमन्यु सरदारले समान ४ विकेट लिंदै हिरोजको इनिंग्स धरासायी बनाए। मण्डलले ४ ओभरमा २२ रन खर्चिए भने सरदारले ३ ओभरमा ९ रन मात्र खर्चिए।

दोश्रो खेलमा खडक वारीयर्सले रोयल च्यालेन्जर्स बाह्री वीरपुरलाई ८ विकेटले हरायाे। १२२ रनको लक्ष्य वारियर्सले मात्र २ विकेट गुमाएर १६ ओभरमा भेटायो।

वारियर्सको जितमा सन्तोष कार्कीले अविजित अर्धशतकीय योगदान दिए। उनले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ६३ रन बनाए। यस्तै ओपनर फिर्दोश अन्सारीले अविजित ४३ रन बनाए।

तेश्रो विकेटको लागि कार्की र अन्सारीले अविजित ९२ रनको साझेदारी गरेका थिए। वीरपुरको बलिंगमा राहुल विकले १ मात्र विकेट लिए।

यसअघि टस जितेर ब्याटिंङ गरेको रोयल च्यालेन्जर्स बाह्री वीरपुरले २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। वीरपुरको आगी भिम यादवले सर्वाधिक २५ रन योगदान दिए। यस्तै तृत राज दासले २२, राहुल विकले १५ तथा अमित यादवले १४ रन बनाए।

खडक वारियर्सका बलर फिर्दोश अन्सारी, अभिषेक कार्की र अनिल कुमार यादवले समान २ विकेट लिए।

सप्तरी क्रिकेट संघद्वारा आयोजित प्रतियोगिताको विजेता टिमले २ लाख तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

[dsm_facebook_comments page_url=”@ET-DC@eyJkeW5hbWljIjp0cnVlLCJjb250ZW50IjoicG9zdF9saW5rX3VybCIsInNldHRpbmdzIjp7fX0=@” color_scheme=”dark” order_by=”time” _builder_version=”4.24.2″ _dynamic_attributes=”page_url” _module_preset=”default” custom_padding=”0px||0px||false|false” global_colors_info=”{}”][/dsm_facebook_comments]