शाइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुनमा ‘शाइन रेशुंगा रन’ आयोजना गर्ने

9 Feb, 2025
Share:
117 Shares

शाइन रेसुंगा नेशनल टेनके रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताबारे जानकारी गराएको हो।

‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ। राष्ट्रिय स्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला÷पुरुष खुला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ। प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ।

खुलातर्फको महिला÷पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ। एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो। खुलातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्।

इच्छुक सहभागीले शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन्। बुटवलस्थित बैंकको केन्द्रिय कार्यालयमा भौतिक रुपमा फारम भरेर पनि नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रिय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रिय कार्यालय परिसरमै पुगेर समापन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पौडेलले खेलकुदमार्फत् समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्देश्य अनुरुप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए।

‘काठमाडौं बाहिर केन्द्रिय कार्यालय राखेर एकमात्र बैंकको सफल रुपमा सञ्चालन गर्दै आएकौ छौं। राष्ट्रिय स्तरको कार्यक्रममार्फत् खेलकुद र समाजप्रति उत्तरदायित्व पुरा गर्ने अवसरको रुपमा यसलाई लिएका छौं,’ पत्रकार सम्मेलनमा उनले भने। सिईओ पौडेलले कार्यक्रमलाई वार्षिक ईभेन्टको रुपमा अघि लैजाने योजना रहेको सुनाएका थिए।