नेपाली टेनिस स्टार शिभाली गुरुङले अष्ट्रेलियामा भइरहेको एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान बनाएकी छन् ।
अष्ट्रेलियन ओपन अन्तर्गतको एलिट जुनियर टेनिस प्रतियोगितामा शिभालीले बिहीबार आफ्नो समूहमा दोस्रो जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेकी हुन्।
शिभालीले ग्रुप ए को तेस्रो खेलमा घरेलु खेलाडी जसलिन के लाई सोझो सेटमा पराजित गरिन्। मेलवर्न पार्क–वेस्ट कोर्ट १९ मा भएको खेलमा शिभालीले जसलिनलाई ६–०, ६–१ ले सहजै पराजित गरिन्।
यसअघि ग्रुपको पहिलो खेलमा शिभालीले बुधबार चीनकी जिन्यु झाउलाई प्रतिस्पर्धात्मक खेलमा २–१ ले पराजित गर्दै विजयी सुरुवात गरेकी थिइन्।
ग्रुप ए को दोस्रो खेलमा भने शिभाली भारतकी जेन्सी कनाबारसँग २–० को सेटमा पराजित भइन्।
यस समूहबाट नेपालकी शिभाली र भारतकी जेन्सीले सेमिफाइनलमा स्थान बनाएका छन्।
शिभालीले अब सेमिफाइनलमा न्युजिल्याण्डकी मुसेम्मा सिलेकसँग बिहीबारै प्रतिस्पर्धा गर्नेछिन्। यो खेल मेलवर्न पार्क–वेस्ट कोर्ट १४ मा हुनेछ।
भारतीय खेलाडी जेन्सीले भने जापानी खेलाडी आयोइ योसिदासँग प्रतिस्पर्धा गर्नेछिन्। यो खेल मेलवर्न–वेस्ट कोर्ट १२ मा हुनेछ।
समूह ए बाट सिलेक र योसिदा पनि दुई–दुई खेल जित्दै सेमिफाइनल पुगेका हुन्।
यसैगरी ब्वाइजतर्फ दक्षिण कोरियाका सियुन किम र अष्ट्रेलियाका टोमी कामुस, अखमादी माखानोभ र थिएन अनह ले सेमिफाइनल पुगेका छन्।
एसिया–प्यासिफिक एलिट–१४ एन्ड अन्डर ट्रफी प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका उत्कृष्ट गरी ब्वाइजतर्फ ८ र गर्ल्सतर्फ ८ खेलाडीले प्रतिस्पर्धा गरेका थिए।
