सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग सिजन २ का लागि सुदूरपश्चिमकै धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिन पाउँदा गर्व महसुस गरेको छ।
एसपीए कलेजले सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पनि सञ्चालन गर्दै आएको छ, जसले शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने कार्य गरिरहेको छ। पहिलो सिजनदेखि नै एसपीए कलेजले टिमसँग सहकार्य गर्दै आएकोमा थप २ सिजन यो साझेदारी रहने हामी सहर्ष जानकारी गराउन चाहन्छौं।
धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेल ग्राम पूर्वाधार विकास समितिका अध्यक्षसमेत रहेका एसपीए कलेजका प्रबन्ध निर्देशक सुभाष शाहीले भभने, ‘हामीले देखेका छौं कि खेलकुदले युवालाई प्रेरणा दिने ठूलो क्षमता राख्छ। सुदूरपश्चिम रोयल्ससँगको सहकार्यले हामीलाई कक्षाकोठाबाहिर पनि विद्यार्थीलाई सहयोग गर्न सक्ने अवसर दिएको छ।’
हालै, एसपीए कलेजले नेपाल यु–१६ टोलीको तर्फबाट मलेसियामा भएको एसीसी यु–१६ इस्ट जोन कप जित्न योगदान दिने सुदूरपश्चिमका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही २५ सय पुरस्कार स्वरूप प्रदान गरेको छ।
सुशील रावल सिजन १ मा गरिएको ट्यालेन्ट हन्टमार्फत छनोट भएका सुदूरपश्चिम रोयल्स हिरोज टिमको सदस्य थिए।
खड्काले आगामी वर्षहरूमा पनि यस साझेदारीलाई निरन्तरता दिन उत्सुक रहेको बताउँदै शाहीको नेतृत्वमा आयोजना हुने फ्रेन्चाइज लिगहरूमा सुदूरपश्चिम रोयल्सको सहभागिता रहन सक्ने कुरा पनि जानकारी गराए।
