पौडीमा अजलले बनाए अर्को कीर्तिमान

8 Jul, 2024

अजलकाजी ताम्राकारले सोमबार पनि प्रथम नेपाल एक्वाटिक पौडी च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन्। अनुभवको नाममा ५९।७७ सेकेन्डको कीर्तिमान थियो।

यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएका थिए। अजलले २६औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमान सुधार गरेका थिए।

प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान बने। थप एक कीर्तिमान दिवाकर अवालेले बनाएका थिए। दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३औं दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान तोडेका थिए।

प्रतियोगितामा १ सय ६६ अंकसाथ निःसर्ग बाटिका स्कुल टिम च्याम्पियन बन्यो। ५३ अंकसाथ सेन्ट मेरिज दोस्रो र ३६ अंकसाथ जेम्स स्कुल तेस्रो बने।

भारतको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ रायन गुरुङलाई २५ हजारसहित सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा ३ सय ५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।